सन्दर्भ: महाभारत!
महाभारतको समयको कुरा हो, पाँच पाण्डवहरू भगवान श्रीकृष्णसँग कलियुगको बारेमा सोध्न गए। उनीहरूले प्रश्न गरे, हे भगवान! हामी जान्न चाहन्छौं कि कलियुगमा मानिसहरूको आचरण कस्तो हुनेछ? उनीहरूको जीवनशैली कस्तो हुनेछ? र मोक्ष प्राप्ति कसरी सम्भव हुनेछ? श्री कृष्णले मुस्कुराउँदै भने, तपाईंहरू एकपटक वनमा जानुहोस् र जे देख्नुहुन्छ, त्यसको बारेमा मलाई बताउनुहोस्। म तपाईंलाई यसको अर्थ बताउँछु।
पाँचै पाण्डवहरू वनमा गए र हरेकले अनौठा र चकित पार्ने खालका दृश्यहरु देखे।
१. युधिष्ठिरले देखेको दृश्य: युधिष्ठिरले देखे कि एउटा विशाल हात्तीको दुई सुँड छन्। यो देखेर उनी एकदम अचम्मित भए। उनले भगवान श्री कृष्णसँग भने, हे भगवान! मैले एक हात्ती देखे जसको दुई सुँड छन्। यसको के अर्थ हुन्छ? श्री कृष्ण हाँस्दै भने, कलियुगमा त्यस्ता शासकहरू हुनेछन् जसले दुई मुखी व्यवहार गर्नेछन्। एक थरी कुरा गर्नेछन् तर काम अर्कै गर्नेछन्। उनीहरूको उद्देश्य केवल आफ्ना स्वार्थ पुरा तर्फ लक्षित हुनेछ न कि जनताको भलाई।
२. भीमले देखेको दृश्य: भीमले एउटा गहिरो दृश्य देखे। उनले देखे कि गाईले आफ्नो बाच्छोलाई यति धेरै चाटिरहेको थियो कि चाट्दा चाट्दा बाच्छो रगताम्य भएको थियो। भीमले आश्चर्यचकित भएर भगवान श्री कृष्णलाई सोधे, हे भगवान! मैले यस्तो दृश्य देखे जसमा गाईले आफ्नो बाच्छो यति चाट्यो कि उसको रगत बगिरहेको थियो। यसको के अर्थ छ? श्री कृष्णले भने, कलियुगमा मानिसहरूले सन्तानको लागि अत्यधिक ममता राख्नेछन्, जसले गर्दा उनीहरूको स्वच्छ विकास रोकिनेछ। उनीहरू आफ्ना सन्तानलाई मोह र ममतामा बाँधेर राख्नेछन् र जीवनका महत्वपूर्ण उद्देश्यहरूबाट विमुख बनाउनेछन्।
३. अर्जुनले देखेको दृश्य: अर्जुनले अर्को अद्भुत दृश्य देखे। उनले देखे कि एक पक्षीको प्वाँखमा वेदका ऋचाहरू लेखिएका छन्, तर त्यो पक्षी मरेको सिनो खाइरहेको थियो। अर्जुनले आश्चर्यचकित हुँदै भने, हे भगवान! मैले यस्तो पक्षी देखे जसका प्वाँखमा वेदका मन्त्र लेखिएका छन्, तर त्यो मरेको सिनो(मासु) खाइरहेको छ। यसको के अर्थ हो? श्री कृष्णले उत्तर दिए, कलियुगमा त्यस्ता मानिसहरू हुनेछन् जो बाह्य रूपमा पण्डित र विद्वानको रूपमा परिचित हुनेछन, तर तिनीहरूको मनमा केवल लोभ र स्वार्थ हुनेछ। उनीहरू धर्मको नाममा अनैतिक कामहरू गर्नेछन्, र आफ्नो स्वार्थ पुरा गर्न अरूको मृत्युको मौका खोज्नेछन्।
४. सहदेवले देखेको दृश्य: सहदेवले देखे कि एक ठाउँमा पाँच सात वटा कुँवा थियो, सबै कुँवामा पानी थियो तर बीचको एउटा कुँवामा पानी थिएन। उनले सोधे, हे भगवान! मैले पाँच सात कुँवामा पानी देखे, तर सँगै बीचको कुँवामा पानी थिएन। यसको के अर्थ हो? श्री कृष्णले उत्तर दिए, कलियुगमा धनाढ्यहरूले हर्ष र उत्सवमा लाखौं खर्च गर्नेछन्, तर नजिकैको रहेको गरीब भोकै र प्यासै तड्पिरहेको हुनेछ। धनाढ्यहरुलाई त्यो गरीब र विपन्न व्यक्तिको कुनै वास्ता हुँदैन। उनीहरू केवल आफ्नो ऐश आराम र मोजमस्तिमा रमाउनेछन्, जबकि जनताको दुःख र कष्टलाई नदेखे जस्तो गर्नेछन्।
५. नकुलले देखेको दृश्य: नकुलले अन्तिम दृश्य देखे। उनले देखे कि एक ठूलो ढुङ्गा पहाडबाट खस्दै आइरहेको छ र ठूला ठूला वृक्षहरूले पनि त्यसलाई रोक्न सक्दैन, तर अन्ततः त्यो ढुङ्गा एउटा सानो बिरुवासँग ठोक्किएर रोकियो। नकुलले चकित हुँदै सोधे, हे भगवान! मैले देखे कि ठूलो ढुङ्गा पहाडबाट खस्दै आईरहेको छ र ठूला वृक्षहरूले त्यसलाई रोक्न सकेनन, तर सानो बिरुवाले उक्त ठूलो ढुङ्गालाई रोक्न सफल भयो। यसको के अर्थ हो? श्री कृष्णले भने, कलियुगमा मानिसहरूको पापले गर्दा उनीहरूको जीवन संकटमा पर्नेछ। उनीहरू पतन हुँदै गइरहेका हुनेछन् तर पनि अथाह धन सम्पत्ति वा बैभवले त्यो पतन वा पापलाई रोक्न सक्ने छैन। तर, केवल भगवानको नामको स्मरण र भक्ति द्वारा, जीवनको पतन रोकिनेछ। भगवान भक्ति र स्मरण नै सानो बिरुवा, भगवानको नामको बिरुवा जसले पाप वा पतनलाई रोक्ने सामर्थ्य राख्दछ।
यसरी, भगवान श्री कृष्णले पाण्डवहरूको एक एक प्रश्नको उत्तर दिँदै कलियुगको जटिलता र प्रवृत्तिहरू बारे प्रष्ट पार्नुभयो।
कथाको संदेश:
कलियुगमा मानिसहरूले जीवनका उच्च आदर्शहरू बिर्सिएर पाप कर्ममा लिप्त भए पनि, भगवानप्रतिको सच्चा भक्ति र आस्था नै जीवनको उन्नति र मोक्षको मार्ग हो।