बाल्टिमोर गुरुङ (तमु) समाजको आयोजनामा ल्होसार पर्व मनाईएको छ । अमेरिका मै अहिलेसम्मको ठूलो ल्होसारको कार्यक्रम गर्न सफल भएको आयोजकहरुले बताएका छन् ।
मेरिल्याण्डको एजउडमा रहेको नेपाली व्यवसायीहरु कै भव्य रोयल प्यालेस पार्टी हलमा भएको कार्यक्रममा झण्डै सात सय मानिसको सहभागिताले कार्यक्रम भव्य बनेको एक सहभागीले नेप्लिज डायस्पोरालाई बताए ।
कार्यक्रममा गुरुङ समुदायका विभिन्न गीत, नृत्य र भेषभूषा प्रस्तुत गरिएको थियो । गुरुङ संस्कृतीको झल्को दिनेगरी नाम्लो ईभेन्ट्सले स्टेज सेट अप गरेको थियो । जसलाई हेरेर धेरैले आहा! भनेका थिए । सिंगै कार्यक्रमको संयोजन पूर्व उपाध्यक्ष तथा सल्लाहकार बल गुरुङले गरेका थिए ।

गायिका ज्योती गुरुङले अतिथी गायिकाको रुपमा गीत गाएकी थिईन । बरिष्ठ लोक गायक श्याम गुरुङले गीत गाउनुका साथै उनले निर्देशन गरेको गीति नाटक प्रस्तुत गरिएको थियो । पूर्व सिपाही कुमबहादुर गुरुङले प्रस्तुत गरेको खुकुरी डान्सले सबैको रगत तातो बनाएको अनुभव हुन्थ्यो ।
सांस्कृतिक कार्यक्रमहरुको संयोजन ईशा गुरुङले गरेकी थिईन । बालबालिकादेखि यूवायुवतीहरुको नाच गान र बजानले ल्होसार कार्यक्रम शुरुदेखि अन्त्यसम्म नै रमाईलो बनेको थियो । राती १ बजेसम्म पनि मानिसहरु बालबच्चा काखा च्यापेरै रमाईलो हेरिरहेका थिए ।
“खाना मीठो थियो । हल त झन् बबाल लाग्यो ।” अर्का एक सहभागीले भने । उपस्थित सबैले पार्टी हलको खुलेर प्रशंसा गरेका थिए । बाल्टिमोरका यूवा व्यवसायीहरु राजु पराजुली, राजु सुवेदी, जीतेन गुरुङ र सतीश चापागाईको नेतृत्वमा केही यूवाहरुले यो हल संचालनमा ल्याएका हुन् ।
अमेरिकास्थित नेपाली दूतावासका बरिष्ट कर्मचारीहरु, एनआरएनए अमेरिकाका अध्यक्ष र पदाधिकारीहरु अनि मेरिल्याण्ड र वरपरका राज्यका विभिन्न समुदायका प्रमुख र प्रतिनिधीहरुको कार्यक्रममा उपस्थिती थियो ।
स्थानीय बम्बे नाईट्स रेष्टुरेण्टको खानालाई सबैले स्वादिष्ट भनेका थिए ।
तमु समाजका महासचिव नविन गुरुङले कार्यक्रम संचालन गरेका थिए । औपचारिक कार्यक्रमको सभापतित्व बाल्टिमोर गुरुङ (तमु) समाजका अध्यक्ष कुमबहादुर गुरुङले गरेका थिए ।