टेक्सास, अमेरिका – प्रवासी नेपालीहरूको हकहित संरक्षण, संगठित प्रतिनिधित्व, र समुदायका आवश्यकताहरूलाई सम्बोधन गर्ने उद्देश्यले प्रवास नेपाली सम्पर्क समिति, टेक्सासको राज्य कार्यसमिति गठन गरिएको छ। समितिले प्रवासी नेपाली समुदायलाई एकजुट गर्दै विविध कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ।
टेक्सास राज्य कार्यसमितिको संयोजकमा रवीन पाठक र उपसंयोजक राज अधिकारी रहेका छन् ।
त्यस्तै सचिवमा अर्जुन फुँयाल, कोषाध्यक्षमा रमेश थापा र सदस्यहरूमा सुचना पन्त, ईश्वर ढकाल, राजीव गुप्ता, टंक मणि घिमिरे, केशव थपलिया, बिप्लव पराजुली, सुदीप कँडेल, शम्भु गैरे, प्रेम पौडेल रहेका छन् ।
"समितिले टेक्सासमा रहेका नेपाली समुदायका हकहित संरक्षण, सामाजिक एकता, तथा सांस्कृतिक प्रवर्द्धनका लागि निम्न प्रमुख योजनाहरू कार्यान्वयन गर्नेछ ।" रास्वपा अमेरिकाले जनाएको छ ।
नेपाली भाषा, संस्कृति, र पहिचान प्रवर्द्धन गर्ने कार्यक्रमहरू गर्ने, सामुदायिक सेवासँग सम्बन्धित कल्याणकारी तथा सहयोगात्मक गतिविधिहरू गर्ने पनि योजना बताएको छ ।
यस्तै, आर्थिक सशक्तीकरणका अवसरहरू तथा उद्यमशीलता प्रोत्साहन गर्ने, प्रवासी नेपालीहरू र नेपालबीचको सम्बन्ध सुदृढ बनाउने पहल गर्ने र समितिले आगामी दिनहरूमा विभिन्न सामाजिक, सांस्कृतिक, र आर्थिक कार्यक्रमहरू आयोजना गर्दै प्रवासी नेपाली समुदायलाई सक्रिय रूपमा सहभागी गराउने योजना बनाएको छ।
यसैबीच पार्टिका अमेरिका संयोजक रमेश भट्ट नेपाली छोरोले प्रवासी नेपाली समुदायलाई सहयोग, सहभागिता, र सहकार्यका लागि सार्बजनिक अपिल गरेका छन् ।