गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) को क्यालिफोर्निया च्याप्टर र नेपाली एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (NANC) को सहकार्यमा नेपाली राजदूतावास, वासिङ्टन डिसीको आयोजनामा सान फ्रान्सिस्कोमा सम्पन्न राहदानी तथा कन्सुलर सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

जनवरी २२ देखि २९, २०२५ सम्म आठ दिनसम्म सञ्चालन गरिएको यस शिविरबाट १,५१५ जना नेपाली प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। नेपाली राजदूतावासका अनुसार, १,५०६ जनाले राहदानी सेवा प्राप्त गरे भने ९ जनाले अधिकृत वारेशनामा (Power of Attorney) सेवा पाएका छन्।
अमेरिकामा हालसम्म आयोजित राहदानी तथा कन्सुलर सेवा शिविरहरूमध्ये यो सबैभन्दा ठूलो सेवा शिविर बनेको छ। यस शिविरलाई सफल बनाउन योगदान दिने सबै संस्थाहरू, दूतावासका कर्मचारीहरू, तथा विशेष गरी निःस्वार्थ रूपमा सेवा प्रदान गर्ने स्वयम्सेवी अभियन्ताहरूलाई गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) ले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

साथै, एनआरएनए क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियामा कन्सुलर कार्यालय खोल्न विशेष भूमिका खेल्दै आइरहेको छ र मन्त्रिपरिषदबाट निर्णय समेत भइसकेको छ। यस निर्णयलाई कार्यान्वयन गर्न तथा नेपाली समुदायलाई अझ प्रभावकारी सेवा पुर्याउन गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (NRNA NCC USA) निरन्तर प्रतिबद्ध रहन्छ।

