मेरिल्याण्ड, अमेरिका
एनआरएनए म्यारिल्याण्ड च्याप्टरले हालै नयाँ कार्यकारी सल्लाहकारहरूको स्वागत गर्दै एक विशेष बैठक आयोजना गरेको छ । उक्त बैठकमा समुदायका अगुवाहरू, सल्लाहकारहरू र कार्यसमिति सदस्यहरू सहभागी भएर हालका समस्या, अपेक्षाहरू, तथा आगामी वर्षको सामूहिक दृष्टिकोणबारे गम्भीर छलफल गरिएको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष बाबुराम भट्टराईले गर्नुभएको थियो भने, कार्यक्रम सञ्चालन सचिवहरिश्चन्द्र रावतले गर्नुभएको थियो।
कार्यक्रममा उपाध्यक्ष राजेन्द्र रेग्मी र महिला उपाध्यक्ष सङ्गी गौतमले स्वागतमन्तव्य दिनुभएको थियो।बैठकले म्यारिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायबीच एकता, प्रतिबद्धता र जिम्मेवारीको भावना झल्काएको थियो ।सहभागीहरूले समुदायमा पारदर्शिता, सहकार्य, युवा सहभागिता, र सार्थक कार्यक्रमहरू संचालन गर्ने विषयमा मूल्यवान सुझावहरू राखे ।
नव–निर्वाचित कार्यकारी सल्लाहकार मनहरी सापकोटा (मन साफ्)ले भन्नुभयो कि “एनआरएनए नै हाल अमेरिकामारहेका सबै नेपालीहरूकोअधिकार र हितका विषयमा आवाज उठाउने एक मात्र संस्था हो ।
नेपालको संविधानमै प्रवासी नेपालीहरूको अधिकारलाई मान्यता दिइएकाले, यससंस्थाको भूमिका अत्यन्त महत्वपूर्ण छ ।” उहाँले थप भन्नुभयो कि एनआरएनएले स्थानीय च्याप्टरहरूबाट नेपाली समुदायका समस्याहरू संकलन गरी, त्यसलाई एनसीसी (राष्ट्रिय समन्वय परिषद्) मार्फत नेपालको सरकारले सम्बोधन गर्ने गरी अघि सार्ने महत्वपूर्ण सेतुको भूमिका खेल्ने बताउनुभयो ।
सापकोटाले स्थानीय च्याप्टरले वार्षिक कार्यक्रम तालिका प्रकाशन गर्नुपर्ने, नियमित बैठक र जानकारी आदानप्रदानको संस्कृति विकास गर्नुपर्ने, र वित्तीय स्थिति तथा कोष–सङ्कलनका विषयमा पारदर्शिता कायम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले सल्लाहकार समिति भावनात्मक, सामाजिक र वित्तीय रूपमा पूर्ण साथ र सल्लाह दिन सधैं तयार रहेको पनि बताउनुभयो ।
बैठकमा यस वर्षको भव्य “देउसी–भैलो २०२५” कार्यक्रम को पनि घोषणा गरिएको छ । यो कार्यक्रम म्यारिल्याण्ड, भर्जिनिया, र वासिङ्टन डी.सी. क्षेत्रका नेपालीहरूलाई एक ठाउँमा ल्याउने, संस्कृतिको संरक्षण गर्ने, र नेपालीपनको भावना जगाउने उद्देश्यले आयोजना गरिँदैछ । यस वर्षको देउसी–भैलो कार्यक्रम अझै समावेशी, रंगीन र ऊर्जा–पूर्ण हुने अपेक्षा गरिएकोछ ।
अध्यक्ष बाबुराम भट्टराईले स्थानीय च्याप्टरले गर्नु पर्ने कामहरू धेरै रहेको, अन्य स्थानीय संस्था सँग मिलेर अझ प्रभावकारी काम गर्न सकिने, र सबैको सहयोग र समर्थन आवश्यक रहेको कुरा उठाउनु भएको थियो। अर्का अध्यक्ष किरण पण्डित व्यक्तिगत कारणले उपस्थित हुन सक्नु भएनन्। नव नियुक्त सचिव हरीशचन्द्र रावतको कार्य संचालन सबैले प्रशंसा गरेका थिए, र युवा सल्लाहकार सम्राट खड्काको कुशल प्रस्तुति तथा देउसी–भैलो कार्यक्रम कसरी व्यवस्थित गर्ने भन्ने तर्कहरू पनि उच्च प्रशंसा प्राप्त गरेका थिए।
एनआरएनए म्यारिल्याण्ड च्याप्टरले यस बैठकलाई नयाँ ऊर्जा, सहकार्य रउद्देश्यको सुरुवातको रूपमा लिएको छ । कार्यसमिति, सल्लाहकार, स्वयंसेवक र समुदायका सबै सदस्यहरूको संयुक्त प्रयासले मेरिल्याण्ड च्याप्टरले प्रवासी नेपालीहरूको सशक्त आवाज बन्ने दृढ संकल्प व्यक्त गरेको छ ।