मिति: अप्रिल १९, २०२६ (आइतबार)
सिकागोमा अवस्थित नेपाली समुदायको साझा पहिचान र सांस्कृतिक संरक्षणका उद्देश्यले स्थापित नेपाली सांस्कृतिक केन्द्रद्वारा आयोजना गरिएको वार्षिक प्रगति विवरण तथा कार्यसमिति विस्तार कार्यक्रम, आज मिति अप्रिल १९, २०२६ का दिन विशेष परिस्थितिका बीच आंशिक रूपमा सम्पन्न भएको छ।
पूर्व निर्धारित कार्यक्रम संस्थाका अध्यक्ष श्री बाला घिमिरेज्यूको आकस्मिक अस्वस्थताका कारण पूर्ण रूपमा सञ्चालन हुन नसके पनि, कार्यक्रममा नेपाली सांस्कृतिक केन्द्र, नेपाली अमेरिकन सेन्टर तथा सिकागोल्याण्ड क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था र सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यसले कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाएको थियो।

कार्यक्रममा सांस्कृतिक केन्द्रको आवश्यकता, यसको दीर्घकालीन महत्व तथा यस परियोजनालाई सफल बनाउन आवश्यक रणनीतिहरूबारे गहन छलफल तथा विचार आदान–प्रदान गरिएको थियो। साथै, नेपाली सांस्कृतिक केन्द्र र नेपाली अमेरिकन सेन्टरका तर्फबाट कल्चर सेन्टर स्थापनाका लागि गरिएका संयुक्त प्रयास, आर्थिक अवस्था तथा संस्थागत प्रगतिबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो, जसले सहभागीहरूलाई सकारात्मक सन्देश दिएको थियो।
आजको कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष श्री खेम पाठकज्यूले गर्नुभएको थियो। कार्यक्रममा नेपाली अमेरिकन सेन्टरका पूर्व अध्यक्ष तथा सम्मानित सामाजिक व्यक्तित्व श्री विष्णु फुयालज्यू विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्दै सांस्कृतिक केन्द्र स्थापनाका लागि हालसम्म भएका प्रयासहरू तथा आगामी दिनमा गर्नुपर्ने कार्यहरूबारे महत्वपूर्ण भनाइ राख्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। त्यसैगरी, नेपाली अमेरिकन सेन्टरका ट्रस्टी सदस्य श्री डिल्ली फुयालज्यूले संस्थाका हालसम्मका गतिविधि तथा आगामी योजनाबारे स्पष्ट जानकारी दिनुभयो।
कार्यक्रममा नेपाली अमेरिकन सेन्टरका अध्यक्ष श्री अङ्कुर शर्माज्यूले पनि सांस्कृतिक केन्द्र स्थापना अभियानमा भएका सामाजिक तथा आर्थिक प्रयासहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो। यसै क्रममा, नेपाली सांस्कृतिक केन्द्र, सिकागोको तर्फबाट संस्थाका कोषाध्यक्ष श्री बालहरि अधिकारीज्यूले संस्थाको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो। साथै, कार्यक्रमका अध्यक्ष श्री खेम पाठकज्यूले संस्थाको समग्र गतिविधिबारे जानकारी दिँदै यस अभियानलाई सफल बनाउन सम्पूर्ण समुदायलाई एकताबद्ध भएर सहकार्य गर्न हार्दिक अपिल गर्नुभयो।

कार्यक्रमको सञ्चालन संस्थाका महासचिव श्याम पराजुलीज्यूले गर्नुभएको थियो। कार्यक्रममा सिकागोल्याण्ड तथा आसपासका विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ अर्थपूर्ण र उपलब्धिमूलक बनाएको थियो।
अन्त्यमा, संस्थाका अध्यक्ष श्री बाला घिमिरेज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तथा आगामी दिनहरूमा थप व्यवस्थित र प्रभावकारी ढंगले कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष श्री खेम पाठकले कार्यक्रमको समापन गर्नुभएको जानकारी नेपाली सांस्कृतिक केन्द्र सिकागोका महासचिव श्याम पराजुलीले दिनुभयो ।



