✍️ ओमप्रकाश अवस्थी
छातीदेखि पिलाउँथ्याै अमृत ती सम्पूर्ण-आधा बनी ।
ती आमा तर आज चिन्तित बनिन् छाेराे तिमी खै भनी ।।
जाेड्याै वित्त विशाल गेह कसरी ? सङ्घर्ष नै हुन् भ्रम ।
आमाकाे यदि प्रेम लाग्दछ भने छाेड्थ्याै र वृद्धाश्रम ।।१।।
भन्थ्यौ पुत्र विदेशदेखि धनको भारी ठुलो ल्याउँछु
आमाको परित्याग स्वर्ण महिमा सङ्घर्ष त्यो गाउँछु ।।
ल्यायौ त्यो अभिमान पूर्ण धनको आनन्दको जो भ्रम ।
मेरो स्नेह सपार्दथ्यौ यदि भने छोड्थ्यौ र वृद्धाश्रम ।।२।।
गाला जीर्ण र केश चिर्चिर् भए लौरो भयो जीवन ।
आमा छिन् घरमा रुँदै विरहमा तिम्रो गरी चिन्तन ।।
लाखौँ स्वर्ण कमाउँछाै तर अहो के काम लाग्यो भन ?
आमाको यदि स्नेह लाग्दछ भने छोड्थ्याै र वृद्धाश्रम ।।३।।
ढुङ्गा झैँ मुटु छैन भाव मनमा नि:स्वार्थ माया पनि ।
आफैँको व्यवहारमा अलिकता आएन लज्जा पनि ।।
आफ्नै त्यो ममता र पालन कठै यस्तो भयो दुर्जन ।
आमाको यदि प्रेम लाग्दछ भने छोड्थ्यौ र वृद्धाश्रम ।।४।।
आफ्नो नै पहिचान धर्म गरिमा कर्तव्य बिर्सीकन ।
तिम्रो रम्छ कसो गरी भन सधैँ वात्सल्य छोडी मन ।।
पैसा निम्ति दिएर जीवन तिमी हो व्यर्थ गर्दै श्रम ।
आमाको यदि प्रेम लाग्दछ भने छोड्थ्याै र वृद्धाश्रम ।।५।।
कसैको भनाई सुनी एक बार ।
न मान्नू मलाई तिमी बोझभार ।।
दिएँ झैँ तिमीले ससम्मान माला ।
न छोड्नू मलाई कुनै वृद्धशाला ।।६।।
न भुल्नू मलाई र संघर्ष मेरा ।
लुटाएँ सबै आयु संसार तिम्रा ।।
परे चाउरी टम्म गाला र छाला ।
न छोड्नू मलाई कुनै वृद्धशाला ।।७।।
आमाको ममता अथाह जगमा जान्दैन कोही पनि ।
छोराको मुख सम्झिएर मनमा रोएर बस्छिन् पनि ।।
छोरो आउँछ फर्किएर घरमा पालेर यस्तो भ्रम ।
आमाको यदि प्रेम लाग्दछ भने छोड्थ्याै र वृद्धाश्रम ।।८।।
छोराले जति नै दिए पनि व्यथा हाँसेर खप्छिन् उनी ।
छोरो आउँछ जन्मभूमि कहिले फर्केर पक्का भनी ।।
यो चोला अब अन्त हुन्न कहिले देख्नेछु भन्ने भ्रम ।
आमाको यदि प्रेम लाग्दछ भने छोड्थ्यौ र वृद्धाश्रम ।।९।।
आमा भोजनमा सधैँ विष पिई पीयूषधारा दियाै ।
लेखूँ शब्द म अश्रुपूर्ण कसरी संसार कस्तो थियाै ।।
पंक्षी झैँ जब उड्छु अम्बर अहो ! त्यो त्याग सम्झिन्छु म ।
मात्रै वृद्ध निवास छोड अहिले हो गेह फर्किन्छु म ।।१०।।
- धनगढी, कैलाली