Logo

शुक्रवार, आश्विन २ गते २०८३   |   2026 September 18

images

images

विश्व शान्तिकालागि भि.एस. स्कुलको पहल

विश्व शान्तिकालागि भि.एस. स्कुलको पहल

नेप्लिज डायस्पोरा

१८, भाद्र २०८३
images

विश्व शान्तिकालागि पहल गर्दै भि.एस. स्कुलद्वारा काठमाडौँमा हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी गरियो  । भि.एस. स्कुलले विश्व शान्ति, सद्भाव र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्यले आणविक बम आक्रमणबाट भएको विनाशको स्मरण गर्दै फोटो तथा भिडियो प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। बुधबार विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा हिरोसिमा आणविक बम आक्रमणपछि सिर्जित भयावह अवस्थाका तस्बिर तथा भिडियो प्रदर्शन गरिएको थियो। विद्यार्थीहरूलाई युद्ध र आणविक हतियारका विनाशकारी प्रभावबारे जानकारी गराउँदै शान्तिको महत्त्वबारे सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा शान्तिको प्रतीकका रूपमा क्रेन बर्ड (कागजको सारस) बनाउन सिकाउने गतिविधिसमेत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि फ्रान्सका लागि नेपालका पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले विश्वमा शान्तिको सधैँ जित र युद्धको सधैँ हार हुने बताउनुभयो। नेपाल शान्तिका अग्रदूत गौतम बुद्धको देश भएकाले नेपालीहरूले सतमार्गले संसारलाई शान्तिको बाटोमा प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रमका विशेष अतिथि काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष विमल कुमार होडाले विद्यार्थीहरूले इतिहासलाई केवल पुस्तकमा सीमित नराखी त्यसबाट सकारात्मक सन्देश ग्रहण गर्नुपर्ने बताउनुभयो। विगतका युद्ध र त्यसबाट भएको मानवीय क्षतिबाट पाठ सिकेर आगामी पुस्ताले शान्तिपूर्ण समाज निर्माणमा योगदान दिनुपर्ने उहाँले बताउनुभयो। कार्यक्रममा जापानी अतिथिहरू Midori Sakamoto, Keiko Delailu तथा Claire Tardieu (Professor, French University, English Department) ले पनि शान्ति र मानवताको आवश्यकताबारे आफ्ना धारणा राख्नुभएको थियो।

भि.एस. स्कुलका प्रमुख कार्यकारी अधिकृत विष्णु पराजुलीले हिरोसिमाको इतिहास सम्पूर्ण मानव जातिले गम्भीरतापूर्वक सम्झनुपर्ने विषय भएको बताउनुभयो। आणविक हतियार र युद्धले मानव सभ्यतामा पार्न सक्ने विनाशकारी प्रभावबारे नयाँ पुस्तालाई जानकारी गराउनु आवश्यक रहेको उहाँको भनाइ थियो।यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूमा युद्धको विनाशकारी प्रभावप्रति चेतना अभिवृद्धि गर्दै विश्व शान्ति, सद्भाव, सहअस्तित्व र मानवताको पक्षमा सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा भि.एस. स्कुललगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो। विद्यालयकी एकेडेमिक डाइरेक्टर अञ्जना अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको अन्त्यमा विद्यालयका अध्यक्ष नारायण प्रसाद नेपालले सहभागी अतिथि, शिक्षक, विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।

 

 

images
प्रकाशित मिति :भाद्र १८, २०८३ बिहिवार - १९:४३:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend