पाल्पा, २५ भदौ ।
मञ्जुश्री साहित्यिक समाजको आयोजनामा १६१औँ मोती जयन्तीको अवसरमा विशेष कविगोष्ठी सम्पन्न भएको छ। गुगल मिटमार्फत आयोजित उक्त कार्यक्रम समाजको ८४ औँ प्रविधिमैत्री भर्चुअल शृङ्खलाका रूपमा सम्पन्न भएको हो ।
समाजका अध्यक्ष एवं चर्चित गीत ‘जहाँ छन् बुद्धका आँखा’ का रचनाकार डा. बमबहादुर थापा ‘जिताली’को सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जगदिश्वर पोखरेल रहनुभएको थियो । प्रमुख अतिथि पोखरेलले कार्यक्रममा उत्कृष्ट शास्त्रीय छन्द तथा मुक्तक विधाका रचनाहरू सुन्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमका समीक्षक पुरुषोत्तम सिग्देलले वाचित रचनाहरूको समग्र समीक्षा गर्नुभएको थियो भने समीक्षक सिग्देलद्वारा प्रस्तुत कविताको समीक्षा कार्यक्रमका सभापति थापाले गर्नुभएको थियो । सो अवसरमा सभापति थापाले युवाकवि मोतीराम भट्टका बारेमा एक नयाँ तथ्यसमेत सार्वजनिक गर्नुभयो । मोतीरामकी आमाले छोराको विवाह गरेर नातिनातिनाको मुख हेर्ने इच्छा व्यक्त गर्दा मोतीरामले ‘देशका सबै मेरा छोराछोरी हुन् र ती सबै तपाईंका नातिनातिना हुन् ।’ भन्ने भाव व्यक्त गरेको प्रसङ्ग उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिद्वय कलानिधि दाहाल र मदनराज थापाको उपस्थिति रहेको थियो । कविगोष्ठीमा टेकबहादुर लौडारी, दुर्गा अधिकारी ‘भमरकोटे’, हरिप्रसाद घिमिरे, चन्द्रा न्यौपाने, ध्रुवराज थापा ‘पुरुष’, सुरेशचन्द्र घिमिरे, बिनुबाबा घिमिरे, गोमविक्रम, चूडा निर्भिक, सुधा बास्कोटा ढकाललगायत १६ जना स्रष्टाले आ-आफ्ना उत्कृष्ट कविता तथा मुक्तक वाचन गर्नुभएको थियो।
वक्ताहरूले मोतीराम भट्टको सिर्जनशील व्यक्तित्वको स्मरण गर्दै यस्ता कार्यक्रमले नेपाली साहित्यमा उहाँको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । साहित्यकार वीरबहादुर लोहनीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम विशेष साहित्यिक माहौलका बिच उत्साहजनक रूपमा सम्पन्न भएको थियो।