तनहुँ– अमेरिका सोसाईटीद्धारा तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनको लागि नगद ७ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सोसाईटीका महासचिव कृष्णजीवी पन्तले एक कार्यक्रमको आयोजना गरी किरियापुत्री भवन निर्माणका लागि ७ लाख रुपैयाँ सहयोग प्रदान गर्नु भएको हो |
महासचिव पन्तले उक्त रकम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपाने र क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशी, वडा नं ४ का वडा अध्यक्ष विश्व न्यौपाने , भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्सालले सहयोग प्रदान गरेकोमा महासचिव पन्त लगायत अन्य सहयोगी दाताहरुलाई आभार व्यक्त गर्नु भएको थियो ।
सोसाइटीका महासचिव पन्तले विदेशमा रहेर पनि मातृभूमि प्रति केही गर्नुपर्छ भन्ने भावनाले उत्प्रेरित भएर आफूहरुले रकम सहयोग प्रदान गरेको कार्यक्रममा बताउनु भएको थियो ।
महासचिव पन्तका अनुसार न्युयोर्क, बाल्टिमोर, भर्जिनिया, सनफ्रान्सिस्को, डालास, ह्युसटन लगायत विभिन्न शहरमा बस्ने ४२ जना तनहुँबासीहरुको सहयोगबाट उपलब्ध गराएको रकम हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा महासचिव पन्तलाई समितिका तर्फबाट दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो ।