Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार, हयारी भण्डारी विजयको नजिक

अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार, हयारी भण्डारी विजयको नजिक

सतीश चापागाईं

१५, कार्तिक २०७५
images
रासस वासिङ्टन डिसी, अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन्।   उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहेका छन्। उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ। सो निर्वाचनले सिनेट र कङ्ग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्यौल गर्नेछ। सोही निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक आठबाट नेपाली मूलका हयारी भण्डारीले हाउस अफ डेलिगेटसमा डेमोक्र्याट पार्टीकोतर्फबाट उम्मेदवारी दिएका छन्। भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी भएका थिए। यसरी प्राइमेरी निर्वाचनमा विजयी भएर एक तहको निर्वाचन पार गर्ने भण्डारी पहिलो व्यक्ति हुन्। सो डिस्ट्रिकबाट तीन जना उम्मेदवार हाउस अफ डेलिगेटसमा निर्वाचित हुन्छन्। डेमोक्र्याट पार्टीको राम्रो पकड भएको उक्त स्थानमा मतदाता निकै जागरुक भएकाले यसलाई स्विङ डिष्ट्रिक अर्थात् जुनकुनैमा पनि मत जानसक्ने डिष्ट्रिकका रूपमा लिइन्छ । आइतबार ‘अर्लि भोटिङ’ को मतदानस्थलमा दिनभरि मतदातासँग मत माग्न व्यस्त रहेका भण्डारीले भने, ‘हामीहरूको अवस्था राम्रै रहेको छ, मतदाताले कसरी हाम्रो उपस्थितिलाई स्वीकार गर्छन् भन्ने नोभेम्बर ६ तारिखपछि भन्न सकिन्छ,’प्रचारप्रसारका विषयमा उनले भने, ‘हाम्रो डिस्ट्रिकमा ८० हजार मतदाता रहेका छन्, सबैखाले प्रचारप्रसारमा पनि राम्रै गरेका छौं।’ न्यूह्याम्सायरबाट डेमोक्र्याट पार्टीकोतर्फबाट स्टेट रिप्रेजेन्टेटिभमा उम्मेदवारी दिएकी मदलसा गुरुङको क्षेत्रमा डेमोक्र्याटको झिनो उपस्थिति रहेको मानिन्छ। उता प्रदीप ढकालको उम्मेदवारी कुनै दलगत नभइ केबल स्थानीयस्तरको एकाइको पद हो। उनले उम्मेदवारी दिएको पद ६ का लागि १० जनाको उम्मेदवारी परेको छ भने पाँच जना यस अगाडि निर्वाचित भइसकेका काउन्सिल सदस्य हुन्। यसरी हेर्दा आगामी नोभेम्बर ६ मा खास प्रतिस्पर्धामा हयारी भण्डारी मात्र रहेका छन्।

images
प्रकाशित मिति :कार्तिक १५, २०७५ बिहिवार - १८:४८:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend