टेक्सासमा यहि नोभेम्बर १७ तारिख वाक फर नेपाल कार्यक्रम आयोजना गरिएको छ । कमला शाक्य फाउन्डेशनको सहयोगार्थ यो कार्यक्रम हुदैछ । यहि कार्यक्रमका बारेमा बुझ्न नेप्लिज डायस्पोराका प्रधान सम्पादक
सतिश चापागाईंले आयोजक मध्येका एक कमला शाक्य फाउन्डेशनका निर्देशक तथा पत्रकार
बाल जोशीसंग टेलिफोन बार्ता गरेका थिए । सोहि बार्ताको सम्पादित अंश यहाँ प्रस्तुत छ :
टेक्सासमा हुन लागेको 'वाक फर नेपाल' कस्तो कार्यक्रम हो ?
'वाक फर नेपाल' बोष्टनमा रहेका केहि युवाले २०१४ मा शुरु गरेको 'पैदल यात्रा' हो । एउटा सामाजिक कामलाई सहयोग गर्ने उद्देश्यले यो पैदल यात्रा शुरु गरिएको रहेछ । अहिले यो टेक्सासमा नियमित भएको छ । हरेक बर्ष हुन्छ । यो छैठौं पैदल यात्रा हो । एउटा पार्कमा पैदल यात्राको तय हुन्छ र त्यहाँ उपस्थित सहभागीहरुले रजिष्ट्रेशन गर्छन र डोनेशन पनि गर्छन । रजिष्ट्रेशन र डोनेशनको रकम नेपालमा कुनै संस्थालाई सहयोग गरिन्छ । यो बर्ष पनि गरिदैछ ।
यो बर्षको थिम के हो ? किन ?
यो बर्ष उहाँहरुले कमला शाक्य फाउन्डेशनको सहयोगार्थ कार्यक्रम हुदैछ । कमला शाक्य सर्भिकल क्यान्सरका कारण युवा अवस्थामा निधन भएकी टेक्सासकी एक नेपाली चेली हुन् । उनकै सम्झनामा यो फाउन्डेशन स्थापना भएको हो । फाउन्डेशनले गत बर्ष नेपालको धुलिखेल अस्पताललाई सर्भिकल क्यान्सरका लागी आवश्यक दुई वटा उपकरण प्रदान गरेको थियो । सोहि रोगका बिरामीलाई अझै सजिलो होस् भनेर महँगा दुई उपकरण फेरी प्रदान गर्ने योजना अनुसार यो कार्यक्रम गरिदैछ । थिम यहि हो ।
टेक्सासका मानिसहरु कसरी सहभागी हुन सक्छन ?
उहाँहरु आफै आएर रजिष्ट्रेशन गरी पैदल यात्रा गरेर सहभागी हुन सक्नुहुनेछ । दोस्रो, आफु नआएपनि कोहि साथीलाई स्पोन्सर गरेर र तेस्रो, यो पवित्र कार्यमा डोनेशन गरेर पनि सहयोग गर्न सकिनेछ ।
बिदेशीहरु पनि आउछन ?
हो आउनेछन् । बिगतमा पनि आउने गर्थे । यो पटक पनि आउनेछन भन्नेमा विश्वास छ ।
कार्यक्रममा उपस्थित हुन नसक्नेले कसरी सहयोग गर्न सक्छन ?
डोनेशन गरेर नै हो । यो एउटा पवित्र कार्य हो । यसमा जोडिन सबै संग आग्रह गर्दछु ।
यो बर्ष तपाईहरुले गरेको अपेक्षा के हो ?
यो बर्ष हामीलाई आवश्यक झन्डै ४० हजार डलर उठ्ने विश्वास गरेका छौं । साथै धेरैभन्दा धेरै उपस्थितिको अपेक्षा पनि गरेका छौं ।
वाक फर नेपालका बारेमा यो लिंक हेरौं
http://walkfornepal.org/about-us.html?fbclid=IwAR2gE5gKwzLKcj4tck-fEkiiuaDMkuRv-rJk64X-aQqK4N-xMpumLXEjbok
https://www.facebook.com/WalkForNepalDallas/videos/2219789668296967/UzpfSTEyNjQ1MzA2Mjc6MTAyMTc0ODg0MzQwMjM3OTg/