डोटी,१५ पौष–
डोटीका दुई स्थानीय तहलाई समाजसेवी आनन्द बिष्टको पहलमा दुई एकबुलेन्स हस्तान्तरण गरिएको छ । जिल्लाकै बिकट स्थानीय तहका रुपमा रहेका जोरायल र बडीकेदार गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
दुई वटा गाउँपालिकामा एम्बुलेन्स नहुँदा स्थानीयवासी छिटो स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएको भन्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा डोटी जोरायल गाउँपालिका ५ गड्सेराका स्थानीय आनन्द बिष्टले दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । २२ लाख रुपैयाँमा दुईवटा एम्बुलेन्स हस्तान्तरण गरिएको कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बिष्टले जानकारी दिनुभयो ।
‘एम्बुलेन्स नहुँदा नागरिकलाई समस्या भयो भन्ने जानकारी पाएकाले मैले आफ्नै पहलमा दुई वटा एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरेको छु’, उहाँले भन्नुभयो, ‘बिरामी नागरिकले छिटो अस्पतालसम्म पुगेर सेवा पाउनेछन् भन्ने आश गरेको छु ।’ बिष्टले जोरायल गाउँपालिकामा शुक्रबार एक कार्यक्रमका गरी एम्बुलेन्स हस्तान्तरण गर्नु भएको थियो भने अर्को बडीकेदार गाउँपालिकाको एम्बुलेन्स शनिबार गाउँपालिकाकै कार्यालय खड्यौलीमा पुगेर हस्तान्तरण गर्नु भएको हो । डोटी जोरायल गाउँपालिका ५ गड्सेरका स्थायीवासी रहनु भएका कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बिष्ट अमेरिका बस्नुहुन्छ ।
विष्टले फेसबुकमा यस्तो लेखे
मनकारी दाताहरुलाई हार्दिक आभार
मरेर लैजानु त केही छैन । बाँच्दा नै यो समाजलाई केही दिन सकियो भने जीवन सार्थक बन्छ । मनका धनी सहयोगदाताहरुको अमूल्य योगदानका कारण आज यो खुशी साट्ने अवसर पाएको छु ।
गत स्थानीय निर्वाचनका बेला गृह जिल्ला डोटी आइपुग्दा म मेरो आफ्नै जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिकाका स्थानीय वासिन्दाले एम्बुलेन्स उपलब्ध गराई दिन अनुरोध गर्नु भएको थियो । मैले पनि दुवै गाउँपालिकामा एक एक वटा एम्बुलेन्स उपलब्ध गराउने वाचा गरेको थिएँ । आज त्यो वाचा पुरा गरेको क्षण ।
हिजो शुक्रवार जोरायल गाउपालिकाका कार्यकारी अधिकृत समीर भण्डारी मार्फ़त एम्बुलेन्स हस्तान्तरण गरियो । अनि आज शनिवार बडी केदार गाउँपालिकामा अध्यक्ष श्री कृष्ण बहादुर चन्दलाई अर्को एम्बुलेन्स हस्तान्तरण गरें । विदेशमा बसेर पनि यसरी स्थानीय वासिन्दालाई छिटो,छरितो आकस्मिक सेवाका लागि एम्बुलेन्स खरीद कार्यमा सहयोग गर्ने सबै मित्र एवं सहयोगदाताप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दछु । मैले त समन्वय गरेको मात्र हुँ । मेरो आग्रहलाई सहृदयतापूर्वक उदार हृदयले सहयोग गर्ने सहयोगी मनका धनी तपाईंहरु सबैलाई भगवानले यसैगरी सेवा गर्नका लागि साथ दिउन् ।
डोटी जोरायल गाउपालिकालाई अमेरिकाको टेक्सास निवासी मेरा परम मित्र गौरीराज जोशीले आमा फाउन्डेशन मार्फत् एम्बुलेन्स उपलब्ध गराउनु भएको हो । यस सुखद क्षणमा आत्मीय मित्र गौरीजी र आमा फाउन्डेशनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
यसैगरी बडीकेदार गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउन सहयोग गर्ने सहयोगी मनका धनीहरु श्री खगेन्द्र जीसी-न्यूयोर्क, डा. विनोद शाह-न्यूयोर्क, श्री केशबराज सेढाँइ-न्यूयोर्क, श्री पासांग शेर्पा-न्यूयोर्क, श्री बासु फुलारा-न्यूयोर्क, श्री जिबन बम न्यूयॉर्क,श्री गोपाल विश्वकर्मा-मेरिल्याण्ड, श्री सुनील शाह टेक्सास,श्री हरीबोल भण्डारी वेस्ट टेकसास, श्री पूर्ण शर्पा क़यालिफ़ोरनिया, श्री पुरुषोत्तम पाण्डे कोलोराडो, श्री विष्णु शाह- क्यालिफोर्निया र श्री अर्जुन प्रसाद मैनालीप्रति नतमस्तक छु ।
तपाईहरूका खुल्ला आँख़ाले देखेका सपनाहरू सदा साकार हुन् र तपाईहरूलाई सदा दान गर्न पुगिरहोस् ।
दुबै कार्यक्रमलाई संयोजन गरिदिनु भयकोमा नेपाली कांग्रेस ज़िल्ला कार्यसमिति डोटी परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछू ।