Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कुलमानले न्युयोर्क बिद्युत प्राधिकरणमा बिस्तृत जानकारी लिए, सुर्य लम्सालसँग भेटे

कुलमानले न्युयोर्क बिद्युत प्राधिकरणमा बिस्तृत जानकारी लिए, सुर्य लम्सालसँग भेटे

सतीश चापागाईं

२५, फाल्गुण २०७५
images
केहि दिनदेखि अमेरिकामा रहेका नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्गले न्यु योर्कको न्युयोर्क बिद्युत प्राधिकरणमा झन्डै चार घण्टा बिताएर यहाँका सिष्टमहरुको जानकारी लिएका छन् । यो अध्ययन भ्रमणको व्यवस्था मिलाएका हुन् इन्जिनियर सुर्य लम्सालले । सुर्य लम्साल न्युयोर्क बिद्युत प्राधिकरणमा १३ बर्षदेखि कार्यरत छन् । आफूभन्दा सिनियर इन्जिनियर लम्साललाई भेट्दा घिसिङ्ग बडो उत्साही देखिन्थे। नेपालको बिद्युत प्राधिकरणमा उल्लेख्य काम गरेका आफ्ना साथी घिसिङ्गलाई न्युयोर्क बिद्युत प्राधिकरणका साथीहरु माझ चिनाउदै गर्दा सुर्य लम्साल पनि खुशी देखिन्थे । छलफलमा अमेरिका र क्यानाडाबीच बग्ने "नायगरा" नदीको पानीको सदुपयोग गरेर दुवै देशले लिएको फाइदाबाट नेपाल र भारतले शिक्षा लिनुपर्ने कुरामा बिशेष महत्व दिईएको थियो । न्यु योर्क बिद्युत प्राधिकरणका इञ्जिनियरिङ्ग विभागका भाइस प्रेसिडेन्ट रबर्ट नोल्टनले कुल मान घिसिङ्गलाई स्वागत गर्नुको साथै "टोकन अफ लभ" स्वरुप बिद्युत प्राधिकरण सम्बन्धी उपहार प्रदान गर्नु भएको थियो । उक्त भेटघाट तथा भ्रमण कार्यक्रममा न्यु योर्क, मेरिल्याण्ड र भर्जिनिया वरपरका नेपाली संघ संस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो । न्यु योर्क बिद्युत प्राधिकरणका बैज्ञानिक फर्नान्डो साभेड्राले कम्पनी टुर गराउनुका साथै प्राधिकरणका कर्मचारीहरुले मिट एण्ड ग्रीट गरेका थिए । घिसिङ्गले अन्धकार नेपाललाई उज्यालो बनाएर वाहवाही पाएका छन् भने सुर्य लम्सालले न्यु योर्कको बिद्युत प्राधिकरणमा राम्रो काम गरेर चर्चित छन्। नेपालको बिद्युत उत्पादन र बिकासमा प्रशस्त सम्भावना देख्ने लम्साल एनआरएन अमेरिकामा सक्रिय छन् । यो पटक उनले अध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन् । लम्सालले एनआरएन सदस्यहरुको लगानीमा नेपालको बिद्युत क्षेत्रमा लगानी गर्न सकिने र गर्नुपर्ने बिषयमा लामो समयदेखि आवाज उठाउदै आएका छन् । नेपाल उज्यालो बनाएका कुलमान र न्युयोर्क उज्यालो बनाइरहेका सुर्य लम्साल बीच भएको यो भेटघाट र सामुहिक छलफलले नेपालको बिद्युत क्षेत्रमा ठुलो लाभ पुग्ने कुरामा अमेरिकाबासी नेपालीले आशा गरेका छन् । नेपाल बिद्युत र न्यु योर्क बिद्युत प्राधिकरण एक चर्चा ५४,५५६ बर्ग माईल क्षेत्रफ़ल भएको न्युयोर्क राज्यमा करिव २० मिलियन जनसंख्या छ र यहाँ दैनिक ३३,००० मेघावाटसम्म बिद्युत खपत हुन्छ । अलिकति बढी ५६,८२७ बर्ग माईल क्षेत्रफ़ल भएको नेपालको जनसंख्या २९ मिलियन भएपनि लगभग ११०० मेघावाटले मात्र आवश्यकता पूर्ति गरिरहेको छ । न्यु योर्क राज्य सरकारको स्वामित्वमा रहेको न्यु योर्क बिद्युत प्राधिकरणले करिव ६००० मेघावाट बिद्युत उत्पादन गर्छ । जसमध्ये ७० प्रतिशत जति हाइड्रो पावर पर्दछ । न्यु योर्क बिद्युत प्राधिकरणले राज्यभरिबाट १६ वटा ठाउँबाट बिद्युत उत्पादन गर्छ । विश्वको एक आश्चर्य नायागरा फलमा पानी खस्नु अगाडी नदीको आधा पानी अमेरिका र क्यानाडाले बराबर बाडेर सुरुङ्गबाट आफ्नो देश लागि बिद्युत उत्पादन गरेको कुलमानले प्रत्यक्ष देखे । अमेरिका र क्यानडाबिचको पानी उपयोग गर्ने सन्धि एउटा महत्वपूर्ण सन्धीको रुपमा स्थापित छ । त्यसमा कुनै एक देशले अर्को देशलाई हानी हुने भाषा प्रयोग भएको छैन । अधिकार र जिम्मेवारी बराबरी छ । अझ न्यु योर्क र क्यानडा बिचको सेन्ट लरेन्स नदीमा त एउटै बाँधलाई दुई देशले बराबरीमा प्रयोग गरेका छन । त्यहाँ लाग्ने खर्च बराबरी बाड्ने र आउने आम्दानी पनि बराबरी लिने प्रवाधान रहेको छ ।अमेरिका र क्यानाडामा यी हाइड्रो पावर प्रोजेक्टको बिषयमा कहिल्यै मनमुटाव नहुने कुरा सुर्य लम्सालले बताउछन। न्युयोर्क राज्य भरिको बिजुली उत्पादन मध्ये न्यु योर्क सिटि वरपरबाट मात्र आधा बिद्युत खपत हुने रहेछ । त्यसको मतलव उत्तरबाट दक्षिण तर्फ लामो दुरीका ट्रान्समिसन लाईनको जरुरि रहेछ । न्यु योर्क बिद्युत प्राधिकरणसंग १४०० सर्क्युट माईलभन्दा लामो हाइ भोल्टेज ट्रान्समिसन लाईनको स्वामित्व रहेछ । त्यसमा संसारको एक मात्र ७६५ केभी ट्रान्समिसन लाइन लगायत ३४५ केभी, २३० केभी र ११५ केभी लाइन पर्ने रहेछन । लामो समयदेखि यस प्राधिकरणमा कार्यरत सुर्य लम्सालले बाँधको सुरक्षा, ट्रान्समिसन लाइनको संरक्षण तथा पुनर्निर्माण र सम्पत्ति ब्यवस्थिकरणले निर्माण सम्बन्धि ठुलो ठाउं ओगटेको बताए । न्यु योर्क बिद्युत प्राधिकरणले करिव दुइ बर्ष अगाडीदेखि विश्वको पहिलो "डिजिटल युटिलिटी" को रुपमा आफुलाई स्थापित गरेको छ । कुलमान घिसिङ्गले उक्त डिजिटल प्रविधिबाट तैयार पारिएको "आइसक" रुमको पनि अबलोकन गरेका थिए । उक्त रुममा रहेका भित्ताभरिका ठुला ठुला मनिटरमा प्राधिकरनको स्वामित्वमा रहेका हरेक उपकरण तथा सम्पत्तिको स्वास्थ्यको प्रत्यक्ष जानकारी हुने गर्दछ ।  

images
प्रकाशित मिति :फाल्गुण २५, २०७५ शनिवार - २२:०५:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend