१. समाजको परिकल्पना
"ब्राह्मणोस्य मुखमासीत् बाहु राजन्य: कृत: उरुतदस्य यद्वैश्य पद्भ्याम् शूद्रोअजायत:" भनी हिन्दू दर्शनले समाजलाई मान्छेकै स्वरूपमा परिकल्पना गरेको छ। जसरी टाउको, हात, छाती, पेट र खुट्टा मिलेर मानिसको शरीर पूर्ण बन्छ, त्यसरी नै मुख अर्थात् शिर - ब्राह्मण, बाहु- क्षेत्री, उरू- वैश्य र पाउ/पैताला - शूद्र मिलेर हिन्दू समाज पूर्ण बनेको छ। वास्तवमा कुनै विराट पुरुषको विभिन्न अङ्ग -प्रत्यङ्गबाट थरी -थरीका मानिस जन्मिएको नभई हिन्दू समाजलाई विराट पुरुषको रूपमा कल्पना गरिएको मात्र हो। हिन्दू दर्शनले विभाजन गरेको चार जातको कुरा समाज - मान्छेलाई पूर्णता दिनका लागि हो। समाज- मान्छेको जीवनलाई गति दिनका लागि मात्र हो। खासगरी यो विभाजन कामको नै विभाजन हो।
२. दर्शन र छुवाछूतको प्रश्न :
मूलतः दर्शन दुई प्रकारका मानिएका छ्न- आदर्शवादी र भौतिकवादी। आदर्शवादी अर्थात् आध्यात्मिक दर्शनले जीवन अनि जगतलाई ईश्वरको सृष्टि मान्छ, चेतनालाई कर्ता ठान्छ भने भौतिकवादी दर्शनले जीवन अनि जगतलाई विकासको क्रमिक प्रक्रियाको उपज मान्छ, पदार्थ र यसको गतिलाई नै सम्पूर्ण ठान्छ ।
हामीले जुनसुकै दर्शन माने पनि छुवाछूतको व्यवहार गर्नु उचित छैन । किनभने आदर्शवादलाई मान्दा हामी सबै ईश्वरका सन्तान हौँ । त्यस्तै, भौतिकवादलाई मान्दा हामी सबैको मूल एउटै हुन जान्छ । आजको विकसित मान्छेलाई यदि जगत् विकासको क्रमिक प्रक्रियाको उपज मान्ने हो भने पनि आखिर पृथ्वीका सारा मानिसको मूल एउटै हुन पुग्छ । मानव विकासका चरण हेर्ने हो भने कुनै मानिस मुखबाट र कुनै मानिस पैतालाबाट जन्मिए भन्ने कुरा जस्तो हास्यास्पद कुरा अरू के हुन सक्ला र ! हिन्दू दर्शनकै कुरा मान्ने हो भने पनि एउटै विराट पुरुषबाट जन्मिएका दाजुभाइ कसरी छूत र अछूत हुन सक्छन् र ?
३. मान्छे र दर्शन-मान्छेबीच तुलना :
माथि हिन्दू-समाजलाई मानिसकै स्वरूपमा परिकल्पना गरिएको कुरा गरियो। अब, मान्छे र मान्छेको स्वरूपमा परिकल्पना गरिएको हिन्दू - समाज- मान्छेको चरित्र र व्यवहारका बीचमा तुलना गरौँ।
मान्छेको शरीरमा एउटै जातको/ ग्रूपको रगत बग्दछ। तर, विराट पुरुषको रूपमा कल्पना गरिएको हिन्दू-समाज- मान्छेको शरीरमा चारै जातको रगत बग्दछ। यसको गर्धनदेखि टाउकोसम्म "ब्राह्मण" जातको/ ग्रूपको रगत बग्दछ। त्यस्तै बाहुमा "क्षेत्री" जातको रगत बग्दछ। उरुमा " वैश्य" जातको रगत बग्दछ अनि पादमा चाहिँ "शूद्र" जातको "अछूत - कूजात" रगत बग्दछ। यसैबाट यसको हृदय र स्वास्थ्यको अनुमान गर्न सकिन्छ।
हुन त शरीरका हरेक अङ्गको आ-आफ्नै भूमिका र महत्त्व हुन्छ तथापि टाउको सबैभन्दा महत्त्वपूर्ण अङ्ग किन रहेको छ भने शरीरका सम्पूर्ण क्रियाकलाप मस्तिष्कबाटै नियंत्रित हुन्छन् । हात, खुट्टा लगायत शरीरका सम्पूर्ण अङ्ग टाउको अर्थात् मस्तिष्कको इच्छा अनुसार नै संचालित हुन्छन् । टाउकोको इच्छाविपरीत यी अङ्गले स्वतस्फूर्त रूपमा कुनै काम गर्न सक्दैनन् । तर, यसको अर्थ टाउको उत्कृष्ट र अन्य अङ्ग निकृष्ट हुन् भन्ने होइन । सबै अङ्गको उत्तिकै महत्त्व छ। कुनै एक मात्र अङ्गको अभावमा मानिसको शरीरले पूर्णता प्राप्त गर्न सक्दैन । यिनै स-साना सबै अङ्ग मिलेर नै मान्छेको शरीर पूर्ण बनी गतिशील रहेको हुन्छ। जस्तो कि आँखाले संसार देख्न मद्दत गरेको छ। हात-खुट्टाले एक-आपसमा मिलेर कर्म गरि शरीरलाई खुवाउँछन्। मुटुले शिरदेखि पैतालासम्म रगत पठाएकै छ। यसरी एक-अर्काको सहयोग र सह- अस्तित्वमा नै मानव - जीवन गतिशील रहेको छ।
मान्छेको शरीरमा बाहु, उरू र पादले छोएको मैले खान्न भनी भन्दैन टाउकोले । चाहे मन्दिरको मूर्ति दर्शन गर्दा होस् या पूजा गर्दा होस् शरीरका सम्पूर्ण अङ्ग मिलेरै त्यो कर्म पूरा हुन्छ। यसैलाई जीवनमा अक्षुण्णता भनिन्छ। अंश-अंश मिलेर नै पूर्ण हुन्छ जीवन । एकको अभाव या अनुपस्थितिमा अर्कोले पूर्णता प्राप्त गर्न सक्दैन । हिन्दू दर्शनलाई पनि पूर्णता दिन मान्छेकै स्वरूपमा कल्पना गरिएको हो। मुख, बाहु, उरू र पैतालाका रूपमा विभिन्न भूमिका निर्वाह गर्न मानिसलाई त्यसरी विभाजन गरी कर्तव्य तोकिएको हो। तर, हिन्दू-समाज-मान्छेको चरीत्र ज्यादै नै विकृत छ। यसको शरीरका अङ्गको आपसी तालमेल , सहयोग र सहअस्तित्वको अभावमा यो समाज-मान्छे मानसिक रोगी भएको छ। कतिसम्म भने यसले आफ्नै शरीरका अङ्गहरू पैताला (शूद्र ), उरू र बाहुले छोएको खाँदैन। पैतालालाई आफ्नो घरभित्र लाँदैन, मन्दिरभित्र जान दिँदैन। बिहेको कुरा त परै जावस् शूद्रसङ्ग छोइएमा सुनपानी छिटेर घरभित्र पस्छ। सुनपानी आखिर उसले सुनारले बनाइदिएको गहनाबाटै लिन्छ। शूद्रले घर बनाइदिएर सम्पन्न गरिसकेपछी "घरपैसा" गरेर मात्र ब्राह्मण नयाँ घरमा बसाई सार्छ ।
४. मस्तिष्क र स्वास्थ्य :
एउटा स्वस्थ टाउकोले अवश्य नै आफ्नै शरीरको हात-खुट्टाले छोएको खाँदिन, घर अनि मन्दिरभित्र लाँदिन भन्दैन । यश अर्थमा हिन्दू-समाज- मान्छे बहुलाएको छ । जब मान्छे बहुलाउँछ तब उसले आफ्नै शरीरका अङ्गलाई पीडा दिन्छ। आफ्नै हात- खुट्टा चिथोर्छ, काट्छ अनि रगताम्मे पार्छ। घाइते हात- खुट्टाको उपचार गर्दैन । आफ्नै शरीरका अङ्गलाई भेदभाव गर्छ। आखिर वेदका मन्त्र उच्चारण गरेमा जिब्रो काटिदिने र सुनेमा लाहा पगालेर कानमा हालिदिने आदेश कुन स्वस्थ टाउकोले दिन्छ सक्छ र ? शूद्रले जुन अङ्गले ब्राह्मणलाई छुन्छ/ पिट्छ राजाले शूद्रको सोही अङ्ग काट्दिनु भन्ने आदेश के स्वस्थ मस्तिष्कको आदेश हुन सक्छ ?
मनुस्मृतिका विधिविधानलाई शूद्रको ठाउँमा ब्राह्मण र ब्राह्मणको ठाउँमा शूद्रलाई लागू गरेको भए चाहिँ के न्यायोचित हुन्थ्यो र ?
५. मुख्य समस्या :
हिन्दू दर्शनको मूल समस्या भनेकै टाउको अनि यसको मानसिक रोग हो । बाहु, उरु र पैतालालाई तल देख्ने र आफूलाई मात्र माथि अनि पूर्ण देख्ने प्रवृत्ति हो। टाउकोले आफूलाई मात्र पूर्ण र सर्वोच्च देख्ने दृष्टिदोष हो । टाउकोले अन्य अङ्गको अस्तित्व स्विकार्न नसक्ने अहङ्कारले गर्दा हाम्रो समाज पछाडि परेको पर्यै छ।जब सम्म शूद्र वर्गले छुवाछूत जस्तो घृणित, अमानवीय व्यवहारबाट उन्मुक्ति पाउँदैनन् र उनीहरूले मान्छेको जुनी जिउन पाउँदैनन् तबसम्म सामाजिक न्याय, विकास र समृद्धिका कुरा केवल नारामै सिमित रहन्छन् ।
६. समस्या उस्तै :
मान्छेको स्वरूपमा समाजको परिकल्पना गर्दा "समस्या " कहाँनेर आइपर्यो भन्देखिन् हात-खुट्टाको त आफ्नै चेतना हुँदैन । तर, बाहु, उरु र पैतालाको रूपमा कल्पना गरिएका मानिसको आफ्नै टाउको अर्थात चेतना छ। हुन त "पैताला"लाई चेतनाशून्य पार्न मस्तिष्कले " धर्म" को नाममा स्लीपिङ्ग ट्याबलेट खुवाएकै छ। मनुस्मृतिका कठोर विधिविधानले सम्पूर्ण हक- अधिकार गुमाएका शूद्र वर्गका निम्ति समाज आज पनि अनुदार नै छ। बेलाबखतमा चुलो छोएको वा धारा- पँधेरा छोएको वा अन्तरजातीय विवाह गरेको निहुँमा दलितको हत्या या कुट्पिट गरिएको समाचार पढ्न पाइन्छ । एकपल्ट जनै पूर्णीमामा कुनै ब्राह्मणले दलितलाई डोरो बान्दिनु पर्यो भने बरु उनी आफैले डोरो नबान्ने कुरो चर्चामा आएको थियो । यसबाटै हाम्रो समाजको यथार्थ तस्वीर देखिन्छ । फेरि, दलित समुदाय आर्थिक रूपमा विपन्न छ । जसले गर्दा राजनीति, शिक्षा , स्वास्थ तथा रोजगारी सबै- सबैमा यो समुदायको पहुँच पुगेको छैन । वास्तवमा दलितपनाको स्वीकार एक किसिमको दास मनोवृत्तिको उपज हो । छुवाछूतको व्यवहार गर्नु मानसिक समस्याको उपज हो ।
७. चेतना र जागरण :
चेतना र जागरणको आलोकले पैतालालाई गहिरो निद्राबाट बिस्तारै व्यूँझाउँदै छ । त्यसैले टाउकोको रूपमा परिकल्पना गरिएका मुट्ठीभरका मानिसले जे आदेश दियो त्यही खुरुखुरु मान्न, जस्तोसुकै अन्याय -अत्याचार गरे पनि सहेर बस्न सक्दैनन् आफ्नै चेतना भएका चेतनशील मान्छेहरू ! पैताला अर्थात शूद्रलाई चेतनाशून्य पारेर अन्यायमा पार्ने, अत्याचार गर्ने र शोषण गर्ने दिन अब क्रमशः समाप्त हुँदैछ्न् । विज्ञानले यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ । त्यस्तै, छुवाछूतको व्यवहार गर्ने अन्य जातलाई पनि ए हामीले त अमानवीय व्यवहार पो गरेका रहेछौँ, त्यसो गर्नु उचित रहेनछ भन्ने ज्ञान् र अनुभूति क्रमशः हुँदै आएको छ ।
हिन्दू दर्शनलाई एउटा घर- परिवार मान्ने हो भने कुन त्यो मान्छे घरको सदस्य हुन्छ जसले आफ्नै घरको अर्को सदस्य अर्थात आफ्नै आमाबुबा , दाजुभाइ , दिदीबहिनीले छोएको खाँदैन ? आज मान्छेको जीवन बाँच्ने उत्कण्ठामा केही दाजुभाइले धर्म परिवर्तन गर्नुभएको छ । त्यो वहाँहरूको बाध्यता हो। जुन धर्म / दर्शनले मान्छेलाई पशुभन्दा पनि तुच्छ र हीन ठान्छ त्यही धर्म र दर्शनको पैताला बनेर कतिन्जेलसम्म यसलाई गति दिन सकिन्छ र? पशुपन्छी जस्तै; कुकुर , गाई, सर्प र कागको पूजा गर्ने तर जुत्ता सिलाइदिने, भाँडाकुँडा बनाइदिने, कपडा सिलाइदिने , बाजा बजाइदिने, सरसफाइ गरिदिने अनि गरगहना बनाइदिने मानिसलाई घृणा र अपमान गरि "अछूत" बनाएर अमानवीय व्यवहार गर्ने मान्छेको टाउको के सद्दे छ त?
८. छुवाछूत आठौँ आश्चर्य :
छोइने कुरा गर्दा आखिर शूद्रले नछोएको कुन ठाउँ छ त ? शूद्र पनि यहीँ माटोमा जन्मिन्छ्न् । यहीँको हावापानीमा हुर्किन्छ्न्। माटो छोइएपछि सारा पृथ्वी नै छोइएन र ? अनि शूद्रले स्वास फेर्दा फालेको जुठो हावाले के ब्राह्मणको फोक्सो छुँदैन र? शूद्रको दृष्टि पुगेको ठाउँ छोइयो कि छोइएन?अनि शूद्रको विचार घुम्ने ठाउँ छोइन्छ कि छोइन्न? शूद्रले कल्पना गर्ने अनि सपनामा पुग्ने ठाँउ के अछुतो रहन्छ र ?
अझ आश्चर्यको कुरा त के छ भने शूद्रलाई आफ्नो घरभित्र पस्न नदिने र शूद्रले छोएको नखाने ब्राह्मणको घरमा साङ्ला, मुसा, कुकुर, बिरालो, झिँगा, लाम्खुट्टे, माउसुलीले के छोएका छैनन् र ? खाँदै गरेको खानामा यदि झिँगा आएर बसे भने पनि उसले खाना फाल्दैन, खान्छ । तर दलितले छोएको खाना उसले खाँदैन। यसको सिधा अर्थ हो- शूद्र भनिने मान्छेको हैसियत एउटा झिँगाको बराबर समेत छैन। त्यसैले त छुवाछूत कूप्रथा अस्तित्वको आठौँ आश्चर्य लाग्छ मलाई ।
[caption id="attachment_9726" align="alignright" width="720"]

तस्बिर स्रोत: गुगल[/caption]
९. जन्म संयोगको कुरा:
जन्म संयोगको कुरो हो । यो वा त्यो जातमा जन्मिन्छु भनी गर्भको छ्नोट गरेर कोही जन्मेको हुँदैन। आखिर जुन जातको कोखबाट जन्मिए पनि मानिस नै जन्मेको हुन्छ । त्यसैले छुवाछूत जस्तो अमानवीय व्यवहार गर्नु अनुचित छ । हिन्दू दर्शनले पुनर्जन्मलाई मान्छ । यसको अर्थ पूर्व जन्ममा ब्राह्मणकूलमा जन्मेको मान्छे के अहिले शूद्रकूलमा जन्मेको हुन सक्दैन र ? के ब्राह्मणले पनि कुनै न कुनै जन्ममा छुवाछूत जस्तो कलंकको टीका लगाउनु परेन र ? त्यसैले छुवाछूतको सवाल शूद्र वर्गको मात्र होइन । यो त हिन्दू धर्म र दर्शनको जल्दोबल्दो साझा सवाल हो । दलित र गैरदलित दुवैको साझा मुद्दा हो ।
१०. अन्त कतै छुवाछूत छैन :
वनस्पतिमा हेरौँ- छुवाछूत प्रथा छैन । पशुपन्छीमा हेरौँ-तिनीहरूका बीचमा पनि छोइछिटोको चलन छैन । अन्य धर्म र दर्शनमा पनि छोइछिटोको चलन छैन। यो त आफूलाई सृष्टिकै सर्वोत्कृष्ट प्राणी मान्ने मान्छेमा मात्रै छ, त्यो पनि हिन्दू धर्ममा मात्रै छ ।
चार जातको विभाजन यदि गुण र कर्मका आधारमा गरिएको हो भने पनि शूद्रको गुण भएको र शूद्रकै काम गर्ने कुन चाहिँ ब्राह्मण शूद्रमा झारिएको छ ? अनि ब्राह्मणको गुण भएको र ब्राह्मणकै कर्म गर्ने कुन चाहिँ शूद्रलाई ब्राह्मणमा लगिएको छ र ? यो त्यही अन्यायपूर्ण विभाजन हो जस्तो पहिले राजाको छोरो नै राजा हुन्थ्यो । कर्म जे सुकै गरोस् , गुणमा जतिसुकै तल झरोस् त्यो बाहुनको कोखबाट जन्मेको भए बाहुन नै रहेर मर्छ । र, शूद्रको छोरोले बुद्दत्व नै प्राप्त गरे पनि त्यो शूद्र नै रहेर मर्छ ।
११. हिन्दू धर्म : ब्राह्मण धर्म
यस्तो लाग्छ- हिन्दू धर्म खासमा "ब्राह्मण धर्म" हो रहेछ । हिन्दू दर्शनमा जन्मिने शूद्रको जीवन नारकीय हुन्छ र ब्राह्मणको जीवन स्वर्गीय ! यो दर्शनमा बाहुनको कोखमा च्याँ गर्नासाथ "सबैभन्दा माथिल्लो जात" होइन्छ । कोही शूद्र सुन्दर छे भने ऊ बाहुनी जस्तै सुन्दर हुन्छे । कोही शूद्र युवक अलि पढ्न जान्ने भयो भने ऊ बाहुन जस्तै टाठोबाठो ठहरिन्छ ।
हजारौं वर्षदेखि मानिसका रगतमा यो निरन्तर बग्दै-सर्दै आएको छ । यसको जरा मानिसको मस्तिष्कमा यति गहिरो गरी गडेको छ कि उसले बरु आफ्नो प्राण त्याग्न वा शूद्रको हत्या गरिदिन सक्छ तर शूद्रलाई अँगाल्न सक्दैन। छुवाछूत मानसिक रोगीले मात्र गर्न सक्छ । स्वस्थ मस्तिष्क वर्तमानमा बाँच्छ तर रोगी मस्तिष्क भूतको ओडार वा भविष्यको कल्पनामा हराउँछ । धर्म र सँस्कृतिका नाममा एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आइरहेको यो डरलाग्दो रोगको निदानका लागि हिप्नोटिस्टको मद्दत चाहिएला जस्तो छ । हिन्दू धर्मलाई ब्राह्मण धर्मबाट मुक्त गरी यसको अनुशरण र पालना गर्ने सबैको साझा धर्म बनाउनु अत्यावश्यक छ। यही दर्शनमा जन्मिएकै आधारमा आफूलाई हीन र तुच्छ ठान्नुपर्ने तथा छुवाछूत जस्तो कलंकको टीका लगाउनु पर्ने बाध्यताको अन्त्य गर्नु जरुरी छ।
[caption id="attachment_9727" align="alignleft" width="720"]

तस्बिर स्रोत: गुगल[/caption]
१२. छुवाछूत : हिन्दू धर्ममा क्यान्सर !
छुवाछूत कुप्रथा हिन्दू दर्शनको क्यान्सर हो । यदि हिन्दू धर्मका ठेकेदारको ध्यान बेलैमा यतातिर पुगेन भने पछुताउनु सिवाय अर्को विकल्प रहने छैन। मान्छेको जीवनमा जति स्वस्थ मस्तिष्क हुन्छ त्यति नै उसले उन्नति- प्रगति गर्न सक्छ। तर, कुनै कारणले मस्तिष्कमा खराबी आयो वा मनोरोगी भयो भने उसको जीवन समाप्तप्रायः हुन्छ। आज हाम्रो दर्शन र यसको स्वास्थ्य देख्दा चिन्तनशील जो सुकै मानवलाई चिन्ता लाग्नु स्वभाविकै हो। छुवाछूत जस्तो मानवताको कलङ्कमा "टाउको" को ध्यान नपुगेको देख्दा हिन्दूदर्शनलाई गति दिने पैताला रुँदै बाँच्नु परेको तितो यथार्थ छ। यदि समयमै यसतर्फ ध्यान दिन सकिएन भने मानवता त रुन्छ नै, विकास समेत अवरुद्ध हुन्छ । जातीय द्वन्द्व बढेर अशान्ती फैलिन सक्छ। पृथ्वीका प्रत्येक दर्शन आ-आफ्नो अस्तित्व जोगाउन मानवतावादी र उदार बन्दै गरेको अवस्थामा यदि यो दर्शन जड् नै रहन्छ भने यसको भविस्य खोइ कस्तो हुने होला ?
१३. काटिएको टाउको र हाम्रो कर्तव्य :
हिन्दू दर्शनमा क्षेत्री, वैश्य र शूद्रको टाउको काटिएको छ र यिनको एउटै टाउकोको रूपमा ब्राह्मणलाई लिइएको छ । आज हामीले आ- आफ्नो टाउको अर्थात् निदाएको चेतनालाई जगाउनु परेको छ । आफू को हौँ भनी चिन्नु परेको छ । मानवको अधिकार, सम्मान र मर्यादा पाउन सतत् प्रयत्नशील रहनुपरेको छ । अझ भनूँ संघर्ष र क्रान्ति नै गर्नु परेको अवस्था छ । जबसम्म समाजमा चेतनाको विकास हुँदैन, तबसम्म मानवताका निम्ति ज्ञानका बिज छँर्दै जानुपर्छ । न्याय, समानता र सह-अस्तित्वको स्थापनाको लागि कटिबद्ध भै लाग्नु पर्छ । खुला दिशा मुक्त क्षेत्र घोषणा गरे जस्तै, छुवाछूत मुक्त समाज अनि राष्ट्र घोषणा गर्न ढिला भएन र ? अब पनि कुनै अवतार आउला र हामीलाई यो दुर्गन्धित कुवाबाट निकाल्ला भनी कुरेर बस्ने होइन । बरू आ-आफ्नो ठाउँबाट जे गर्न सकिन्छ त्यो गर्नु पर्छ । बिज्ञानको उज्यालोले धर्मका केही अँध्याराहरू नासिँदै गएका छ्न् । आशा गरौँ- यो कालो अन्धकार चिरेर आखिर एकदिन उज्यालो छर्दै न्यायको सुनौलो बिहान कसो नउदाउला र ! छुवाछूतमुक्त समाज एकदिन कसो निर्माण नहोला र !
- रिब्दिकोट गा.पा.-३ मैनादी, पाल्पा ।
(आर.बी. 'निश्चल' एक सशक्त युवा साहित्यकार हुनुहुन्छ । साहित्यिक कृति पनि प्रकाशित गरिसक्नु भएका निश्चल शिक्षण पेशामा संलग्न हुनुहुन्छ । पाल्पाका निश्चलको यो लेख साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )