Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

संबिधान संशोधनमा सरकार पछि हट्यो, ओली भारतको दबाबमा परेको आरोप

संबिधान संशोधनमा सरकार पछि हट्यो, ओली भारतको दबाबमा परेको आरोप

नेप्लिज डायस्पोरा

१४, जेठ २०७७
images
काठमाडौँ – नयाँ नक्सा सम्बन्धी संविधान संशोधनको विधेयक आज बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गर्ने कार्यसूचि एकाएक हटाइएपछि नेपालमा नयाँ राजनीतिक तरंग पैदा भएको छ । नयाँ नक्सा सार्वजनिक गर्दा सरकारले देखाएका उत्साह आज संविधान संशोधनका प्रस्तावसम्म आइपुग्दा एकाएक बिलाएको टिप्पणीहरु भइरहेका छन् । संविधानविद भीमार्जुन आचार्यले आन्तरिक छलफलको बहानामा नयाँ नक्सा सम्बन्धी संशोधन प्रस्ताव कार्यसूचिबाट हटाइएको घटनाले सन्देह पैदा गरेको बताउनुभयो । उहाँले भारतीय सञ्चार माध्यमबाट नेपाल संविधान संशोधनबाट पछि हटेको समाचार दिइरहेकोले कतै संविधान संशोधनको विषय अगाडि बढ्दैन कि भन्ने आशंकाहरु पैदा गरेको टिप्पणी गर्नुभयो । संविधानविद आचार्यले नयाँ नक्साका सम्बनधमा नेपाल प्रक्रियागत रुपमा अघि बढिसकेको बेला संशोधनको प्रस्तावबाट सरकार पछि हटेमा मुलुकका लागि दूर्भाग्य ठहरिने बताउनुभयो । उहाँले आफ्नो भूमि फिर्ता लिन सिर्जित उपयुक्त अवसरलाई सरकारले खेर फालेमा दोहोरिएर यस्तो अवसर प्राप्त नहुने बताउनुभयो । तर यता सत्तापक्षले भने आजको लागि संशोधन प्रस्ताव पेश हुने कार्यसूचि तय भएपनि प्रतिपक्षी दल नेपाली कांग्रेसले समय माग गरेका कारण कार्यसूचिबाट हटेको दाबी गरेको छ । सत्तारुढ नेकपाका नेता सुवासचन्द्र नेम्वाङले हिजो बसेको सर्वदलिय बैठकमा कांग्रेसले छलफलका लागि समय माग गरेका कारण आजलको कार्यसूचि परिवर्तन गर्नुपरेको जिकिर गर्नुभयो । तर संविधान संशोधन प्रस्तावको कार्यसूचि हटाइएको विषयमा आफूलाई दोष लगाइएको भन्दै नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नक्साबारे संविधान संशोधनका लागि कांग्रेस चट्टानी अडानका साथ दृढ रहेको बताउँदै षडयन्त्रका तानाबाना नबुन्न सत्तापक्षलाई चेतावनी दिनुभएको छ । उहाँले प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता लिँदा दोष लगाउने भन्दै सत्तापक्षलाई प्रश्न गर्नुभएको छ । कांग्रेस नेता चन्द्र भण्डारीले पनि संविधान संशोधनका पक्षमा कांग्रेसले आफ्नो मत जाहेर गरिसकेको स्पष्ट पार्नुभयो । धेरैले भारतीय दबाबका कारण सरकार संविधान संशोधनको प्रक्रियामा अघि बढ्न नसकेको टिप्पणी गरिरहेको छन् । तर सत्तारुढ नेता नेम्वाङले उक्त आरोपहरु खारेज गर्नुभयो । उहाँले नयाँ नक्साबारे संविधान संशोधनका लागि सत्तापक्ष दृढ रहेको दाबी गर्दै प्रस्ताव अढि बढ्ने बताउनुभयो । सत्तापक्षले हिजो बसेको सवंदलिय बैठकमा कांग्रेसले संविधान संशोधनको विषय केन्द्रीय समितिबाट पारित गर्नुपर्ने भएकोले समय माग गर्दा ढिलाइ भएको दाबी गरेको छ । यता कांग्रेस नेता डा. मिनेन्द्र रिजालले अबदेखि यस्ता सर्वदलिय बैठकमा भएको सहमति तथा निर्णयहरु संसदलाई जानकारी गराउन माग गर्नुभएको छ । सरकारले नयाँ नक्सा जारी गर्दा देखाएको उत्साह संविधान संशोधनको प्रक्रियासम्म आइपुग्दा सेलाएको अनुभूति नेपाली जनताले गरेका छन् । भारतद्वारा अतिक्रमित भूमि समेटेर नेपालले नयाँ नक्सा जारि गरेपछि चिढिएको भारतका एक प्रभावशाली नेता योबीचमा काठमाडौँ आएको र उनको नेपालका विभिन्न नेताहरुसँग बाक्लो छलफल भएको विषय पनि अहिले चर्चामा छ । यद्यपि १२ बुँदे सहमतिका सुत्रधार मानिने ति भारतीय नेता अहिले नेपालमा आएको स्वतन्त्र पुष्टि भने कहिँ कतैबाट भएको छैन ।

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - १९:४५:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend