अमेरिकाबाट हुलाक मार्फत पठाएको गाँजा रिसिभर पक्राउ गर्न प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले ‘कन्ट्रोल डेलिभरी’ विधि अपनाएर ६ जनालाई समातेको छ ।
अमेरिकाबाट पठाएको ३ किलो २३९ ग्राम गाँजा हुलाक मार्फत आएको र गाँजा झिकेर अनुसन्धान अधिकृतले बाकस मात्रै रिसिभरसम्म पठाएर ६ जनालाई समातेको हो ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज घर भएका ३२ वर्षीय डल्लु राम, ४३ वर्षीय हविव मिया, भारतीय नागरिक २४ वर्षीय अजिन बर्गेस, डडेलधुरा घर भएकी रेनुका तामाङ, भारतीय नागरिक ३० वर्षीय अरुण कुमार र मोहम्मद नाइम छन् ।
२९ भदौमा अमेरिकाबाट आएको ९ सय ग्राम गाँजा काठमाडौँमा बरामद गरेर गाँजा आएको बाकस डिल्लीबजार हुलाक मार्फत वीरगन्जमा पठाएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।
डिल्लीबजार गोश्वारा हुलाक मार्फत जिल्ला हुलाक कार्यालय पोखरामा रिसिभ गर्ने गरी अमेरिकाबाट भदौ २४ मा एक कार्टुन गाँजा आएको थियो । सो गाँजा १ किलो ४ सय ग्राम काठमाडौँमा नै बरामद गरेर भदौ २५ मा पोखराबाट रिसिभ गर्न आएका भारतीय नागरिक अजिन बर्गेसलाई पक्राउ गरिएको छ । बर्गेसको डेराबाट ७२० ग्राम गाँजा बरामद गरिएको छ ।
डडेलधुरा घर भएकी ३९ बर्सिया रेनुका तामाङलाई ब्यूरोको टोलीले भदौ २४ मा बरामद गरेको थियो । ९ सय ३९ ग्राम गाँजा भारतीय नागरिक अरुण कुमार र मोहम्मद नइमले पठाएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
अहिलेसम्म ब्युरोले कन्ट्रोल डेलिभरी पद्धतिबाट ३ वटा अपरेसन सञ्चालन गरेको छ ।