मजदूर चालक स्वतन्त्र संघर्ष समितिले आफूहरुको ट्याक्सी व्यवसाय धरासायी बनेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै समितिले सरकारले आफूहरुको माग सम्बोधन नगर्दा व्यवसाय नै धरापमा परेको बताएको हो ।
संघर्ष समितिले आफूहरुका विभिन्न ७ बुँदे माग सार्वजनिक गर्र्दै अब सरकारले गम्भीरतापूर्वक सम्बोधन नगरे संघर्षमा जाने चेतावनी दिएको छ । नेपाल राष्ट्रिय ट्याक्सी मिटर व्यसायी तथा चालक सेवा समाजका केन्द्रीय उपाध्यक्ष पुरुषोत्तम पाण्डेले आफूहरुको मागलाई सरकारले गम्भीरतापूर्वक नलिँदा ट्याक्सी पेशा धरापमा परेको बताए । आफूहरुले राज्यसँग हारगुहार गर्दापनि कुनै सुनुवाई नभएको उनको गुनासो छ ।
‘यो राज्यले हामीलाई कहिल्यैपनि देखेन । पटक–पटक हामी राज्यको सम्बन्धित् निकायमा गुहार माग्न गयौं । हाम्रा माग तथा मुद्दालाई राज्यले बेवास्ता गर्यो,’ उनले भने ।
सम्पूर्ण यातायात व्यवसाय तथा मजदूर चालक स्वतन्त्र संघर्ष समितिका संयोजक सानु पूर्वछाने मगरले रातो नम्बर प्लेटको दुई पाङ्ग्रे सवारी साधनले खुलम्खुल्ला यात्रुहरु ओर्सादा सरकारले हेरेर बसेको बताए । उनले ट्याक्सी व्यवसायी र चालकको समस्याका बारेमा प्रधानमन्त्री र गृहमन्त्री र यातायात मन्त्रालयमा ज्ञापन पत्र बुझाएको बताए ।