Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्वारा एकसाथ तीन स्रष्टा पुरस्कृत

रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्वारा एकसाथ तीन स्रष्टा पुरस्कृत

नेप्लिज डायस्पोरा

२०, बैशाख २०८१
images
रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्वारा एकसाथ तीन स्रष्टा पुरस्कृत

काठमाडौँ, १९ वैशाख २०८१ मा रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ । उक्त मन्दिरले काठमाडौँको सर्वनाम नाटकघरमा एक भव्य समारोहको आयोजना गरेर वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल र रेडियोकर्मी अच्युत घिमिरे बुलबुललाई सम्मान गरेको हो ।

मन्दिरले शर्मालाई अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार, डा. विमललाई प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार र घिमिरेलाई रामगीता प्रोत्साहन पुरस्कार अर्पण गरेको हो । डा. विमललाई उनको भरखरै प्रकाशित कृति ‘सरबरिया टोल’ का लागि सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी क्रमशः ५०–५० र २५ हजार नगदसहित सम्मानपत्र रहेको थियो ।

 

कार्यक्रमको सभाध्यक्ष गीता खत्री, संरक्षक कमलबहादुर खड्का र मखमली खड्का तथा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार यादव खरेल रहेका थिए । उनीहरुसहित पुरस्कार स्थापित व्यक्तित्वहरु अशेष मल्ल, सावित्री मल्ल कक्षपति र प्रतीक ढकाल तथा पुरस्कार संस्थापक राम खत्री र गीता खत्रीले संयुक्त रुपमा ती पुरस्कारहरु स्रष्टालाई अर्पण गरे ।

अनेसासकी उपाध्यक्ष डा. रेणुका सोलुले उपस्थितलाई स्वागतसहित संस्था र संस्थापक राम—गीताको बारेमा चर्चा गरिन् भने महेश पौड्यालले सम्मानीत स्रष्टाको बारेमा गहन परिचय व्यक्त गरेका थिए ।

पुरस्कार हस्तान्तरणपछि बोल्दै कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी यादव खरेलले परम्परागत रुपमा पुरस्कार राख्ने परम्परा भन्दा यो फरक रहेको भन्दै प्रशंसा गरे ।

गीता खत्रीले धेरै वर्ष अघिनै यो पुरस्कार स्थापना गर्ने सोच बनाएको तर दुई वर्ष अघि मात्र संस्था स्थापना गरेको तथा अहिले पुरस्कार वितरण गर्न सफल भएको बताइन् । अशेष मल्लले अरु अशेष मल्ल जन्माएको र प्रतीक ढकालले नेपालको हिमालको बारेमा लेखेर विश्वलाई परिचित गराएकोले उहाँहरुको नाममा पुरस्कार स्थापना गरिएको उनले बताइन् । आफूले गरेको कामबाट कहिल्यै पनि घमण्ड नआओस् भन्दै सधैभरि कर्म गरिरहन पाए आफू खुसी हुने पनि उनले बताइन् ।

परम्परागत ढर्रालाई तोड्दै कार्यक्रम अत्यन्त फरक तरिकाले व्यवथापन भएको थियो । मञ्चमा भिडाम्भिड अनि दर्शकदिर्घातिर कुर्सी खाली जस्ता असुहाउँदो दृष्य यहाँ देख्नुपरेन । उपस्थित सबैजनालाई समान स्तरमा बस्ने व्यवस्था मिलाइएको थियो । मञ्च र दर्शकको कित्ताकाट यस प्रोग्राममा थिएन । त्यसैगरी पानसमा बत्ती बाल्ने अनि कार्यक्रम समुद्घाटन गर्ने दृष्य पनि यहाँ देखिएन । बरू गीता खत्रीका 89 वर्षीय बुबाले गणेश स्तुति गाउनुभएर कार्यक्रमको समुद्घाटन र समापन भयो । प्रमुख अतिथि, गीता खत्री र राम खत्रीको हातबाट सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरूलाई सम्मान एवम् पुरस्कार समर्पण भयो ।

सम्मानित सबै व्यक्तित्वहरूले राम-गीता वाङ्मय प्रतिष्ठान र राम गीता दम्पत्तिप्रति हृदयत: आभार व्यक्त गरे । प्रा.डा. सावित्री मल्ल कक्षपतिका अनुसार यसरी ज्यूँदा व्यक्ति त्यो पनि दम्पत्तिको नै नामबाट पुरस्कार स्थापना गर्ने कार्य विश्वमा नै यो पहिलो हो । मान्छे ज्यूँदो रहँदा नै उसका कर्मका बारेमा सम्मान गर्ने यो प्रचलनको शुरुवाति गर्ने यस सत्कर्मको सबैले खुलेर प्रशंसा गरे । यो गरिमामय कार्यक्रम सञ्चालनको भूमिकामा भवानी खतिवडा थिइन् ।

 

 

images
प्रकाशित मिति :बैशाख २०, २०८१ बिहिवार - २३:२८:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend