अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट गत अगस्त १ देखि हराई रहेकी नेपाली मूलकी नर्स (स्वास्थ्य परिचारिका ) ममता काफ्ले भट्ट आज अगस्त २० मंगलबारका दिन सम्म पनि फेला परेकी छैनन् । अगस्त २० मंगलबार राती ९ बजेसम्म पनि कुनै सुखद खबर प्राप्त भएको छैन ।
हराई रहेकी ममताकी छोरी ठिक १ बर्ष भएकी छिन् । आमा बेपत्ता भएता पनि समुदाय सबै मिलेर मनासस पार्क प्रहरी चौकीमा छोरीको जन्म दिनको शुभअवसरमा बेलुन , झोलामा थुप्रै खेलौना,बच्चीको लागि डाइपर लगायत थुप्रै सामानहरु सहित उपस्थित भै उनको जन्म दिवस मनाएका छन् ।

भेला भएका सबै दुखित भएका थिए । छोरीको जन्मको एक बर्ष नपुग्दै आमा बेपत्ता भएपछि सबैको मन रोएको छ । तथापी समुदायले अझै ममतालाई घर फर्क र सुरक्षित घर आऊ भन्दै प्रार्थना गरि रहेका छन् ।
ममता बेपत्ता भए देखि नै खोजीको पहल गर्ने मध्ये कै ममताकी साथी तथा संगै अस्पतालमा काम गरेकी मेरिल्याण्डकी सुनिता बस्नेत (नर्स -स्वास्थ्य परिचारिका) , अर्की स्वास्थ्य परिचारिका बिना खड्का लामा लगायत थुप्रै मानिसहरु दिउदैदेखि नै प्रहरी चौकीमा शान्तिपूर्ण भेलामा सहभागी हुदै ममता काफ्ले भट्टको छोरीको जन्मदिन मनाउन प्रवन्ध गर्दै हजारौ हजारले छोरीलाई शुभकामना दिएका छन् ।
२० दिनसम्म फेला नपरेता पनि समुदायहरु उनको खोजीलाई अझ तिब्र बनाई रहेका छन् भने सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई रहेका छन् । सधै झैँ मनासस पार्क प्रहरी चौकी अगाडी शान्तिपूर्ण जनचेतना भेला जारी राखिएको छ ।
अझै पनि ममता घर आउ , हामी तिमीलाई माया गर्छौ , ममतालाई खोज्न हामीलाई मद्धत गरौ, हामी ममतालाई घर ल्याउन चाहन्छौ भन्ने जस्ता सामग्री सहित अझै पनि समुदायहरु लागि परेका छन् ।
स्मरण रहोस ,ममता काफ्ले गत अगस्त १ देखि हराई रहेकी छिन्। लेट्स स्पिक अप फर ममता काफ्ले भट्ट(lets Speak Up For Mamta Kafle Bhatta )भन्ने सामाजिक संजाल समूह निर्माण गरिएको छ । ममता बेपत्ता भएदेखि यसै समूह मार्फत सबैले जानकारीहरु निरन्तर रुपमा अध्यावधिक(अपडेट) गराई रहेका छन् ।