महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्ती एवम् सम्मान पुरस्कार समर्पण कार्यक्रम सखी प्रतिष्ठानले देवकोटा सङ्ग्रहालय मैतीदेवीमा भव्य रूपमा सम्पन्न गरेको छ । सखी प्रतिष्ठानकी अध्यक्ष कवि मन्जिला अनिलको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमका प्रमुख अतिथि सञ्चारकर्मी निर्देशक प्रकाश सायमी रहेका थिए । महाकविको प्रतिमालाई माल्यार्पण गरेर कार्यक्रमको शुरुआत गरिएको थियो । प्रारम्भमा नै अध्यक्ष मन्जिला अनिलले सबै विशिष्ट अतिथिहरूलाई स्वागत गरेकी थिइन् । डायस्पोरामा नेपाली भाषा साहित्यको क्षेत्रमा समर्पित भई अत्यन्तै सक्रिय स्पन्दन विनोदलाई यो वर्षको “देवकोटा साहित्य पुरस्कार २०८१” प्रदान गरिएको हो।
यसै अवसरमा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई देवकोटा नियात्रा सम्मान २०८१, वरिष्ठ आख्यानकार एवम् गायिका पद्मावती सिंहलाई देवकोटा गीतकार सम्मान २०८१, वरिष्ठ कलाकार एवम् साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठलाई देवकोटा कलाकारिता सम्मान २०८१, साहित्यकार एवम् सूचना आयोगका आयुक्त कमला ओलीलाई बाल साहित्य एवम् समाजसेवा सम्मान २०८१ पनि प्रदान गरिएको थियो ।
सम्मानित, पुरस्कृत प्रतिभाहरूलाई टीका लगाएर ,पस्मिनाको सल ओढाएर, फूल माला र रुद्राक्षको माला सहित सम्मानपत्र प्रदान गरिएको थियो । स्पन्दन विदेश भएका हुनाले उनका भाइले पुरस्कार ग्रहण गरेका थिए । कार्यक्रममा महाकविका रचना–गीत कविताहरू पनि प्रस्तुत गरिएका थिए । लामो समयदेखि प्रवासमा रहेर पनि निरन्तर साहित्य साधना गर्ने र अभियन्ताको रुपमा संसारभरिका साहित्यकारसँग समन्वय गर्ने, विविध कार्यक्रम गरेर जोड्ने, सद्भाव कायम गर्ने, नेपाली भाषाप्रतिको पहिचानमुखी जागरण अभियान थाल्ने साथै संसारभरका नेपाली भाषी साहित्यकारको अभिलेखपूर्ण खोज, सम्मान तथा परिचर्चा गरेर हराउन लागेका प्रतिभालाई ऊर्जा थप्ने स्पन्दन विनोद यसरी सम्मानित भएका हुन्।
विशेषगरि छन्द कविता र सैद्धान्तिक गजलमा कलम चलाउने स्पन्दनलाई यो सम्मान दिनु सच्चा सर्जकको सम्मान भएको भनेर धेरै अग्रज साहित्यकारले खुसी पनि व्यक्त गरेका छन्। स्वयम् कवि स्पन्दन विनोदले आफूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसाद स्वरुप यो पुरस्कार प्रदान गरिएको सपनाझैँ लागेको र विश्वासै नलागेको बताएका छन्। साथै सम्मान प्रदान गर्ने सखी प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गर्दै आफू सम्मान पुरस्कारका लागि नभएर निरन्तर नेपाली भाषा साहित्यको सेवामा सक्रिय रुपमा समर्पित हुने बताएका छन्। उनले करिब ५ वर्ष अगाडि देखि सामाजिक संजाल मार्फत विश्वभरका नेपाली साहित्यकार एक हौँ भन्दै नेपाली साहित्यकार विश्व सञ्जालको परिकल्पना गरि मेसेन्जरमा विश्वभरका सर्जक समेटेर विधुतिय विध्वविद्यालय खोलेका छन्। जसमा हप्तैभरि हरेक दिन वरिष्ठ साहित्यकारहरूद्वारा विविध विधा उपविधाको प्रशिक्षण दिन् गरिन्छ।
उक्त अभ्यास हरेक दिन समायोजन गरेर पुस्तकको आकारमा सामाजिक संजालको नेपाली साहित्यकारको फोटो अल्वममा विधुतिय पुस्तकालयका रुपमा राखिन्छ। हरेक सर्जकको जन्मदिनको शुभकामना समेत नछुटाउन् स्पन्दन विनोदले पर्वासको व्यस्त जीवनमा आफ्नो काम सकेर सिर्जना गर्दै संस्थागत रुपमै लागेर निःस्वार्थ सेवा गरेको देखेर लाखौँ नेपाली खुसी भएका छन्। नेपाली साहित्यकार विश्व सञ्जाल पाठशालामा हाल वरिष्ठ साहित्यकारहरू – काव्यविद्वोच्छिरोमणि कलानिधि दाहाल (गद्य कविता), गजलविद्वोच्छिरोमणि डा. घनश्याम न्यौपाने परिश्रमी (गजल), गजल चिन्तक डा. देवी पन्थी (चारु), कवि विदुर अधिकारी तथा हरिप्रसाद रिमाल (पद्य कविता), मुक्तककार सुनिल अधिकारी (मुक्तक), गीतकार ज्ञानेन्द्र गदाल (गीत), कथाकार राजन सिलवाल (लघुकथा), हाइजिन पुरु सुवेदी (हाइकू), कवि अमार त्यागी (बाछिटा), कवि जनार्दन अधिकारी धड्कन (खोरिया) र कवि ताराप्रसाद चापागाइँ (टुक्का) प्रशिक्षक रहनु भएको छ। धेरै अग्रजदेखि अनुजले स्पन्दनको यो खालको सक्रियताले नेपाली भाषा साहित्यमा तरंग पैदा गरेको र धेरै सर्जकलाई शुद्ध विधा लेख्न सहयोग गरेको साथै विश्वभरका सर्जकलाई ऊर्जा दिइरहेको बताएका छन्। स्पन्दन विनोदलाई हाम्रो तर्फबाट पनि हार्दिक बधाई छ ।

