वि.सं. २०६९ सालमा ‘नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ युएईमा कार्यरत केही जुझारू युवा साहित्यकर्मीहरूद्वारा स्थापना भएको सगरमाथा साहित्य प्रतिष्ठानको ११औँ स्थापना दिवस एक भव्य समारोह बिच हिजो काठमाण्डौमा मनाइएको छ ।
कविन्द्र कलानिधी दाहालको प्रमुख आतिथ्य, साहित्यकार हरिभक्त सिग्देल/हातेमालो समाजका अध्यक्ष सुनिल अधिकारी एवं साहित्यकार मिना श्रेष्ठको विशेष आतिथ्य तथा संस्थाका प्रवक्ता (म स्वयं) राजेशराज गड्तौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तीन जना स्रस्टाहरू झापाका विवेक दुलाल क्षेत्री ‘दमक’ लाई ‘सगरमाथा स्रस्टा सम्मान – २०८१’ र चितवनकी यमुना न्यौपाने अधिकारी तथा कञ्चनपुरका रमेश पन्त मीतबन्धुलाई ‘सगरमाथा वर्ष पुरस्कार’ नगद १०५०५’ बाट सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाबाट प्रकाशित कविता संग्रह ‘कविताहरूको सगरमाथा २’ को विमोचन हुनुका साथै ‘सगरमाथा अक्षयकोष’ का लागि संस्थालाई सहयोग गर्नुहुने दाताहरू नुवाकोटकी सुमित्रा सुमी, ललितपुरकि चन्द्राकुमारी राई, भक्तपुरका दीपक दाहाल एवं मकवानपुरका कपिल ढुङ्गानालाई संस्थाको आजिवन सदस्यता सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
चैत्र २ गते शनिबार आयोजित सो कार्यक्रमलाई सम्मानित व्यक्तित्व, विशेष अतिथि, प्रमुख अतिथि लगायतले सम्बोधन गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो भने विशेष अतिथिद्वय हरिभक्त सिग्देल र मिना श्रेष्ठले संस्थाले स्थापना गरेको अक्षयकोषका लागि पाँच-पाँच हजार रूपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
स्मरण रहोस्, संस्थाका तत्कालीन अध्यक्ष जीवित खड्का मगरको पहलमा शुरु भएको दस लाख रूपैयाँको ‘सगरमाथा अक्षयकोष’ ले त्यसपछिका अध्यक्ष अजित उत्सवका समयमा निरन्तरता प्राप्त गर्दै वर्तमान अध्यक्ष समर चेम्जोङ आभासको कार्यकालमा मूर्त रूप लिएको हो ! यस वर्ष दुई जना स्रस्टालाई प्रथम पटक प्रदान गरिएको ‘सगरमाथा वर्ष पुरस्कार’ आगामी वर्षदेखि रकम बढाएर एक जना स्रस्टालाई मात्रै प्रदान गर्ने योजनामा संस्था रहेको छ ।
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाकी उपाध्यक्ष भैरवी भूगोलले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका नेपाल शाखा ईञ्चार्ज अमन एकलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने नेपाल शाखाकी सदस्य सुशीला शर्मा तथा रूपा थापाले अतिथिहरूलाई खादा र मालाले स्वागत गर्नुभएको थियो ।



