चन्द्रगढी/२०८२ ०२/ ३०
लेखनाथ पुरस्तकालय चन्द्रगढीको आफ्नै सभाहल। झापाको उखर्माउलो गर्मी। कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गरिएका दुईथान वातानुकुलित यन्त्र( एसी) पनि उखर्माउलो गर्मीले लल्याकलुलुक भएजस्तो। पसिना तरतरी चुहाउँदै आमन्त्रित व्यक्तित्वहरुको उपस्थिति सन्तोषजनक । साहित्यको नसा पनि एककिसिमको लत नै रहेछ। घामपानी, हावाहुरी ,असीना केहीले पनि नछेक्ने। मन्द बुद्धि भएका एकोहोरा न ठहरिए साहित्यकार भन्ने गरिएका भुईँफुट्टे प्राणी। घर,व्यवहार ,छोराछोरी, नाति नातिना जेसुकै हुन्, तर साहित्यिक कार्यक्रमहरु भने नपुगी हुदैन। मानौँ, त्यहाँ पुगिएन भने आफ्नै संसार भद्रगोल हुनसक्छ। लाखौँ करोडौँको हानीनोक्सानी हुन्छ।
कार्यक्रममा यसरी हस्याङ फस्याङ गर्दै पुग्यो, सञ्चालकले स-सम्मान आसन ग्रहण गराएन र आफ्नो नाम लिएनभने त आफैले टेकेको धर्ती भासिएझैँ हुने। प्रेशर ह्वात्तै बढेर हृदयघात होलाजस्तो हुने।। भनिन्छ साहित्य समाजको दर्पण हो। चेतना हो। उज्यालो हो। पारदर्शी ऐना हो अनि साहित्य बिम्ब पनि हो।समाज परिवर्तन र रुपान्तरण गर्न सक्ने गतिलो अेाेजार पनि हो। त्यसैकारण आफ्नो खर्च गरेर अरुका कार्यक्रमहरुमा स्रष्टा दगुरिरहेका छन्। पालोको पैँचो पनि त हो नि। आफू अरुका कनर्यक्रमहरुका गइएन भने भोलि आफ्ना कार्यक्रममा अरु आउछन् भन्ने सोच्ने कुरा पनि भएन। त्यही भनेर भनेको होला ‘ प्यारका वादा फिप्टीफिप्टी’ ।
लेखनाथ पुस्तकालयको नियमित कार्यक्रम हो शुकवारे भेला। प्रत्येक महिनाको अन्तिम शुकवार लेखनाथ पुस्तकालयले गर्दै आएको साहित्यिक कार्यक्रमको नाम हो शुकवारे भेला। जेठ महिनाको अन्तिम शुकवार। यसपटक चन्द्रगढीमा बसेर नेपाली साहित्यको सेवामा निरन्तर लागिरहनु भएकी स्रष्टा आरती पोखरेल ‘अनु’ को तेस्रो कृति मुक्तक सङ्ग्रह’ अन्तस्करणका प्रतिबिम्बहरू’ को लोकार्पण गरिएको छ। यश अघि उहाँका कृतिहरु” धरातलमा उभिएर” गजल सङ्ग्रह र “जीवनका भोगाइहरु” प्रकाशित भैसकेका छन्। शुकवारे भेला’ का संयोजक कवि तथा साहित्यकार होम सुवेदीको अध्यक्षता, प्राज्ञ सुभद्रा भट्टराई अर्यालको प्रमुख आतिथ्य, डाक्टर ठाकुर प्रसाद पोखरेल र रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओली, देवकोटा स्मृति भवन भद्रपुरका अध्यक्ष राजेन्द्र चापागाईँको विशेष आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि लगायत मञ्चासिन व्यक्तित्वहरुबाट कृति लोकार्पण गरिएको थियो।
लोकार्पित कृतिको समीक्षा समीक्षक चूडामणि वशिष्ठले गर्नुभएको थियो। कार्यक्रममा देवीचरण भण्डारी’ सरोज’, राजु वराल, तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, लक्ष्मीअच्युत ढुङ्गाना, महेन्द्र भट्टराई, प्रतीक नेपाल, भगवती ढुङ्गेल, विरही अधिकारी, शिव अधिकारी ‘इलामे जेठो,’ राजेन्द्र कश्यप अधिकारी, निर्मला वास्तोला दङ्गाल, गीता सुवेदी नेपाल, उषा गुरुङ, शारदा कोईराला, मीना अधिकारी, गोविन्द कोईराला ( लघुकथा प्रस्तुत), रश्मी असफल, विनोद खनाल र राजेस ढुङ्गानाले कविता तथा मुक्तक( कसैले लोकार्पित कृतिभित्रबाट र कसैले मौलिक सिर्जना) वाचन गर्नुभएको थियो।कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ सुभद्रा भट्टराई अर्याल, विशेष अतिथि गंगाप्रसाद ओली, डा. ठाकुरप्रसाद पोखरेल, नवराज घिमिरे, भवानी क्षेत्री र इन्द्रप्रसाद कटुवालले शुभकामना मन्तव्य राख्नुभएको थियो। मुक्तककार आरती पोखरेल’ अनु’ ले लेखकीय मन्तव्य राख्नुभएको थियो।
कार्यसमितिकी सदस्य निर्मला वास्तोला दङ्गालले स्वागत मन्तव्य कविता मार्फत् र सञ्चालन सचिव हरिकिसोर आचार्यको रहेको थियो भने कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक होम सुवेदीले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो। यस अघि सामुहिक राष्ट्रगान, कीर्तिशेष स्रष्टाहरुप्रति एकमिनेट मौनधारण गरिएको थियो। प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन र व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो भने लेखनाथ पुस्तकालयको परम्परा र संस्कृतिअनुसार शङ्खघण्टको ध्वनि गुञ्जयमान गराईएको थियो भने बटुकहरुद्वारा स्वस्ति वाचन गरिएको थियो। कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि र कृति समीक्षकलाई मायाको चिनो र बन्दखाम प्रदान गरिएको थियो।कार्यक्रममा इलाम र झापाका साहित्यकारहरुको बाक्लै उपस्थिति रहेको थियो।















