Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गोपी मैनालीको “अक्षरको मन” लोकार्पित

गोपी मैनालीको “अक्षरको मन” लोकार्पित

नेप्लिज डायस्पोरा

२८, श्रावण २०८२
images
गोपी मैनालीको “अक्षरको मन” लोकार्पित

काठमाडौँ – मुक्तिनाथ साहित्य समाज नेपाल काठमाडौँर्द्वारा अनामनगरमा आयोजित कार्यक्रममा वरिष्ठ स्रष्टा गोपी मैनालीको “अक्षरको मन” कृति लोकार्पण भयो । समाजका अध्यक्ष वरिष्ठ कवि कलानिधि दाहालले सभापतित्व गरेको उक्त कार्यक्रममा कृतिको लोकार्पण प्राज्ञ दिनेशराज पन्तले गर्नु भएको थियो ।

पानसमा दीप प्रज्ज्वलन एवम् राष्ट्र गानबाट सुरु गरिएको कार्यक्रममा समीक्षक द्वय डा. हरि लम्साल र डा.परशुराम पौडेलले समालोचनात्मक टिप्पणी राख्नु भएको थियो । डा. लम्सालले सङ्ग्रहमा समेटिएका २२ निबन्धको शैली, संरचना, विषय परिवेश, सन्दर्भ र अन्य निबन्धकारसँग तुलना गरेर मैनालीको निबन्धीय विशेषताको उल्लेख गरी रौचिरा विश्लेषण गदै सबै निबन्ध पोइटिक प्रोज भएको उल्लेख गर्नु भएको थियो ।

डा.लम्सालले विषयको व्यापकता र विचारको गहनतासाथ भावनाको स्वच्छन्द उडानमा निबन्ध लेख्ने मैनाली लक्ष्मीप्रसाद देवकोटा र शङ्कर लामिछाने पछि विशिष्ट स्थान राख्न सफल विशिष्ट प्रतिभा भएको निष्कर्ष निकाल्नु भयो । अर्का समालोचक डा परशुराम पौडेलले रुप विन्यास र कला शिल्पकाआधारमा निबन्धहरूको विश्लेषण गर्दै निबन्धहरू निकै उत्कृष्ट रहेको र विचार, दर्शन र कलाको संयोजन उच्चस्तरको रहेको उल्लेख गर्नु भयो ।

शुभकामना मन्तव्य दिँदै वरिष्ठ समालोचक प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले मैनालीको निबन्धको यो पाँचौँ कृति विगतका भन्दा निकै खारिएको, निबन्धमा कल्पना, अनुभूति, विज्ञान र मानवीय संवेगको भावात्मक प्रस्तुति रहेको बताउनु भयो । वरिष्ठ कवि महेश प्रसाईँले मैनालीका निबन्ध कवितामय प्रस्तुतिमा रहेका विशिष्ट बौद्धिकताका उपज हुन् भन्दै अव निबन्धमा मैनाली एरा आएको बताउनु भयो ।

वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले मैनालीका निबन्ध लेखन शैली कलात्मक, बैचारिकरुपमा गहन र भावनाको उन्मुक्त उडान रहेको उल्लेख गर्नुभयो । शर्माका शब्दमा मैनालीका निबन्ध उनको व्यक्तित्व जस्तै सरल, गहन र उच्चस्तरका रहेको उल्लेख गर्नु भएको थियो । समस्त साहित्यिक संस्थाका तर्फबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले मैनालीको विशिष्ट साधनाले कथा, निबन्ध, समालोचना र नियात्रामा मौलिक पहिचान भएको बताउनु भयो ।

वरिष्ठ समालोचक युवाराज मैनालीले निबन्धकार मैनालीको २०३८ देखिको निबन्धीय यात्राको सिलसिला उल्लेख गर्दै मैनालीका निबन्ध गहन विचार, बेजोड प्रवाहशीलता, आत्मिक चेतना, युगवोध र तकसंगतिमा रहेकाले उनीबाट नेपाली निबन्धले धेरै कुरा प्राप्त हुने उल्लेख गर्नुभयो । अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरेले सुशासन, समालोचना, कथा र निबन्धमा समान वैशिष्ट्य रहेको टिप्पणी गर्नुभयो । प्रमुख अतिथि प्रा.दिनेशराज पन्तले मैनाली प्रशासन र साहित्य सिर्जनामा समान रूपमा उत्तिकै शीर्ष स्थानमा रहेको उल्लेख गर्नुभयो । प्रशासनमा सुशासन, निबन्धमा स्वच्छन्दताको उडान, कथामा सामाजिक यथार्थता र समालोचनामा गहन मूल्य विवेचना गर्ने मैनाली जस्ता प्रतिभा नभको बताउनु भयो ।

लेखकीय मन्तव्य दिँदै निबन्धकार मैनालीले आफूले निबन्ध लेखेको सन्दर्भ, रचना गर्भमाथि प्रकाश पारेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका राष्ट्रिय उपाध्यक्ष निर्मल पराजुलली सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत भाषण डा अर्जुनदेव भट्टले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन समाजका संरक्षक हरिभक्त सिग्देलले गर्नु भएको थियो ।

कार्यक्रममा स्रष्टाहरू रामप्रसाद पन्त, विमलभौकाजी, विजय थापा, डा लवदेव अवस्थी, डा दामोदर रेग्मी, अनेसासका राष्ट्रिय अध्यक्ष राजेन्द्र केसी, इदिरा ढकाल, कल्पना दाहाल, महेन्द्र चालिसे, बाजुराम पौडेल, आलोक चालिसे, अच्युतराज उप्रेती, डा राम मैनाली, नारायण मैनाली, सिंहबहादुर श्रेष्ठ लगायत कवि, समालोचक, पत्रकार, प्रशासक र विचारकहरूको भव्य उपस्थिति थियो ।

 

images
प्रकाशित मिति :श्रावण २८, २०८२ मंगलवार - १८:४०:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend