काठमाडौँ । बसुन्धरास्थित एक्मी इन्जिनियरिङ कलेजमा आयोजित दुई दिने ‘एसीआईटी टेक फेस्ट २.०’ शुक्रबार सम्पन्न भएको छ । प्लस टु र स्नातक तहका विद्यार्थीलाई इन्जिनियरिङ क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीले विभिन्न प्राविधिक परियोजना प्रदर्शन गरे । उनीहरूले विशेषगरी इन्जिनयुक्त विमान, एआई-आधारित प्रणाली र अन्य नवप्रवर्तनशील समाधान प्रस्तुत गरेका थिए । कलेजको सूचना प्रविधि क्लब (एसीआईटी) ले आयोजना गरेको यस कार्यक्रममा ह्याकाथन, परियोजना प्रदर्शनी, टेक डिबेट, यूआई/यूएक्स, थ्रीडी रेन्डररिङ, अटो-क्याड र फोटोग्राफी गरी सात विधामा प्रतिस्पर्धा गराइएको थियो ।
कार्यक्रमका विजेतालाई एक लाख रुपैयाँभन्दा बढीको पुरस्कार राशि प्रदान गरिने आयोजकले जनाएको छ । ह्याकाथन प्रतियोगिता अन्तर्गत विद्यार्थीले स्वास्थ्य सहयोग एप, किराना पसलको डिजिटलाइजेसन, विद्यार्थीलाई चिट चोर्नबाट रोक्ने एआई प्रणाली, टुरिस्ट गाइड प्लेटफर्म, शिक्षक-केन्द्रित एप र अस्पतालमा अपोइन्टमेन्ट लिने प्रणाली जस्ता परियोजना प्रस्तुत गरेका थिए । आयोजकका अनुसार यी परियोजना वर्तमान समयका प्राविधिक चुनौतीको समाधानमा केन्द्रित थिए ।
परियोजना प्रदर्शनी अन्तर्गत स्नातक तहतर्फ केसीसी कलेज विजयी भयो भने प्लस टु तहतर्फ हेराल्ड कलेजका विद्यार्थी प्रथम र उर्बाना कलेजका ज्वाला बाबु शाह द्वितीय भए ।
टेक डिबेट प्रतियोगितामा विद्यार्थीले क्रिप्टोकरेन्सीको वैधानिकता, भिडिओ गेम्स र सिर्जनशीलता, आउटसोर्सिङ, टिकटकमाथिको प्रतिबन्ध तथा सरकारको सामाजिक सञ्जाल दर्तासम्बन्धी नियम जस्ता समसामयिक विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए । यसका अतिरिक्त कार्यक्रममा विद्यार्थीले नेपालमै निर्माण गरेको इन्जिनयुक्त विमान, टेलिस्कोप मार्फत ग्रह-तारा अवलोकन तथा विभिन्न स्थानीय खेल पनि प्रदर्शन गरिएको थियो । यस महोत्सवले विद्यार्थीलाई आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै शैक्षिक क्षेत्र, उद्योग र समुदायलाई जोड्ने साझा मञ्चको रूपमा काम गरेको आयोजकले बताएको छ ।

