पाल्पा, जेठ २० गते । बगनासकालीगाउँपालिका वडा नं. ८ बराङ्दीस्थित बराङ्दी स्वास्थ्य चौकीको सामाजिक परीक्षणका निमित्त आम भेला यही जेठ २० गते वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष श्री मोतिलाल बस्यालज्यूको अध्यक्षतामा सुसम्पन्न भएको छ । बगनासकाली गाउँपालिकाको आयोजना तथा सञ्चार मञ्च पाल्पाको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीहरू, जनप्रतिनिधि लगायत सरोकारवाला समुदायका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको समुपस्थिति रहेको थियो ।
सञ्चार मञ्च पाल्पाका प्रतिनिधि तथा पत्रकार नवराज पन्थीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख गोमबहादुर क्षेत्रीले स्वागत तथा संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । पत्रकार रेखिराम रानाले सामाजिक परिक्षण कार्यक्रमको उद्देश्य तथा महत्त्वमाथी प्रकाश पार्नु भएको उक्त कार्यक्रममा समुदायका तर्फबाट ल्याब सुविधा, अक्सिजन कन्सन्ट्रेटर, क्यालियम चक्की लगायतका सुविधा थप भए जनतालाई थप सहज हुने कुरा उठाइएको थियो भने उपस्थित धेरैजसो जनसमुदायले संस्थाको आफ्नो भवन छिटोभन्दा छिटो निर्माण भइदिए जनताले सेवा पाउने कुरामा एकमत रहेको थियो । आफ्नै भौतिक संरचना नहुँदा नहुँदै पनि संस्थाबाट गुणस्तरिय सेवा प्रदान गर्ने पहललाई निरन्तरता दिनु पर्ने धेरैको सुझाव रहेको थियो ।
