ज्योति कुमार श्रेष्ठ
न्यूयोर्क, फेब्रुअरी २०, २०१९ बुधवार ।
अमेरिकामा नेपालीहरुको बाक्लो बसोबास रहेको न्यूयोर्क सिटीको क्विन्स काउण्टीमा पर्ने ७५ स्ट्रिट अन्तर्गत २५ एभेन्यु र ३१ एभेन्यु बिचको सडकलाई “माउण्ट एभरेष्ट वे” नामाकरण गरिने भएको छ ।
नेपाल र नेपालीको पहिचान र अस्तित्वको लागि न्यूयोर्कमा रहेको नेपाली समुदायले न्यूयोर्क सिटी काउन्सिलसंग पहल र प्रस्ताव गरेपछि नेपाली अमेरिकन समुदायको सम्मानमा न्युयोर्क सिटिले आगामी महिना मार्च ९ तारिखका दिन एक भव्य कार्यक्रमका बिच सो नामाकरणको औपचारिक घोषणा गर्ने भएको छ । उक्त घोषणा कार्यक्रम नेपाली समुदाय; नेपाली महाबाणिज्यदुतावास; र न्यूयोर्क सिटिले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।
माउन्ट एभरेष्ट वे घोषणा कार्यक्रमको दिन सडक महोत्सव गरि नेपाल चिनाउने कार्यक्रमहरु गर्न लागेको छ ।
सो घोषणा कार्यक्रम र सडक महोत्सवको अन्तिम तयारीको लागि छलफल एवं समन्वय गर्न न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासले अर्को साता २२ तारिख शुक्रवार दिनको ४:३० बजे मुस्ताङ थकाली किचेन, ज्याक्सन हाईट्समा समुदायका संघसंस्था प्रतिनिधि एवं सबैलाई भेला भैदिन अनुरोध गरेको छ ।
सो कुरा महावाणिज्यदूत पुष्पराज भट्टराई द्वारा हस्ताक्षरित हिजो फेसबुक मार्फत सार्वजनिक गरिएको पत्रमा उल्लेख गरिएको हो ।
यसै सन्दर्भमा वाणिज्यदूत कृसु छेत्रीले श्रब्यदृश्य मार्फत उक्त घोषणासभा कार्यक्रम आयोजनाको अन्तिम तयारीको लागि ज्याक्सन हाईट्स स्थित मुस्ताङ थकाली किचेनमा हुने छलफलमा भाग लिईदिन हुन र अमूल्य सुझाव, सहयोग, र सहभागिताका लागि विशेष अनुरोध गर्नु भएको छ ।
(फोटो सौजन्य: लुईसाड० वाईबा तामाङ)
समाचार साभार: टुटुल्कोडटकम)