एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा न्युयोर्कका युवा अनिलराज पाण्डेयले उमेद्वारी दिएका छन् । पाण्डेयको उमेद्वारीले उनी बस्ने न्यु योर्क सहरसंगै अमेरिकाको नेपाली समुदाय तरंगित बनेको छ ।पाण्डेय न्युयोर्क वरपर बस्ने नेपालीका लागि परिचित नाम हो । समुदायका हरेक गतिविधिमा अहोरात्र खट्ने अनिल न्युयोर्कका बिभिन्न सामाजिक संस्थाहरुमा सक्रिय युवा हुन् ।
अनिल पाण्डेयले सुर्य लम्सालको समुहबाट उठेका हुन् । उनि लम्साल समूहका हर्ताकर्ताका रुपमा चिनिन्छन । जनसम्पर्क समिति न्यु योर्क च्याप्टरका सचिव समेत रहेका पाण्डेय नेविसंघ र कांग्रेसको राजनीतिमा पनि राम्रो दखल राख्ने युवा हुन् । सुर्य लम्सालको सहयोगी र मिलनसार व्यक्तित्वले उनलाई तानेको हो । "उहाँ गफ दिनुहुन्न । अति सामान्य हुनुहुन्छ । उहाँले अमेरिकामा रहेका हरेक घरलाई फाईदा हुने स्पष्ट कार्य योजनाका साथ आउनु भएको छ । त्यसैले मैले उहाँलाई साथ दिएको हुँ ।" उनले थपे, "परिवर्तन चाहने हरेक युवाले यसपटक सुर्य लम्साललाई मत दिनुपर्छ ।"
"एनआरएनमा धन र डन प्रवृती हावी भयो र छ । यसपटक यो प्रथा तोड्न चाहन्छौं ।" अनिलले आक्रोशित हुँदै भने, "सधै दुई चार जनाको सिन्डिकेट लागु हुन दिईन्न ।"
नेपालमा पाल्पाको रामपुर र नेपालगंज घर भएका पाण्डेय सानैदेखि बिभिन्न संघसंस्थामा सक्रिय थिए । पाल्पा हुँदा होस् या नेपालगंज उनि सधै सामाजिक सेवाका काममा तल्लिन हुन्थ्ये । बिद्यार्थी उमेर मै उनि नेपालका जिल्ला स्तरीय बिभिन्न संघसंस्थामा रहेर सामाजिक काम गरेको बताउछन । उनले तिनै संस्थाहरुबाट व्यक्तित्व र नेतृत्व बिकासका तालिमहरु लिएका थिए ।
पाण्डेय केहि समय अरब मुलुक दुबईमा पनि बसे । त्यहाँ हुँदा पनि उनले अफ्टेरोमा परेका धेरै नेपालीहरुलाई सहयोग गरेका थिए । "शुक्रबार र सनिबार बिदा हुन्थ्यो तर यी दुई दिन म झन् ब्यस्त हुन्थ्यें ।" अनिलले भने । अनिलको यो बानी अमेरिकामा पनि छुटेको छैन बरु अझै बढेर गएको छ ।"
न्यु योर्कमा पनि अनिलको बिदाको दिन सधै सामाजिक कार्य गरेर बित्छ । त्यसैले होला अनिल न्युयोर्कका युवादेखि पाका नेपालीसम्म परिचित र प्रिय छन् ।
"साथी सर्कलमा उहाँ हँसिलो, मिजासिलो र सहयोगी हुनुहुन्छ ।" न्युयोर्कका अर्का युवा अन्जन कुमार चौलागाईंले नेप्लिज डायस्पोरासंगको कुराकानीमा भने । चौलागाईं आफै पनि एनआरएन अमेरिकाको केन्द्रिय महासचिव पदका उमेद्वार हुन ।
"मेरो समाज सेवाप्रतिको सक्रियता हेरेर साथीभाईहरुको आग्रहमा मैले उमेद्वारी दिएको छु," पाण्डेयले भने, "म अमेरिकभरी नै सामाजिक काममा संलग्न हुन् चाहन्छु, सबै मतदाताको मत पाउने विश्वास गरेको छु।"
श्रीमती एक छोरी र एक छोराका साथ न्युयोर्कमा झन्डै एक दशकदेखि बस्दै आएका छन् ।'