एनआरएनए अमेरिकाको महासचिवमा उठ्नु भएका गोपेन्द्र भट्टराईले संस्थालाई बिबाद रहित र गुट उपगुटभन्दा माथि राखेर अगाडी बढ्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ । अमेरिकाले आईसिसिमा राम्रो पकड जमाउनेतर्फ़ सोच्नु पर्ने उहाँको विचार छ ।
निर्वाचन नजिकिदै गर्दा भईरहेका अनेकन टिप्पणी र बिबादका घटनाहरुले संस्थालाई ओरालो लैजाने उहाँको विचार थियो । नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंसंगको कुराकानीमा भट्टराईले उक्त चिन्ता ब्यक्त गर्नु भएको हो । "संस्था रहे मात्र लड्ने ठाउँ बाँकी रहन्छ ।" भट्टराईले चिन्ताका साथ भन्नुभयो, "हामी प्रजातान्त्रिक देशमा छौं । नियम अनुसार लडाई गरौं तर रमिता देखाउने काम नगरौं ।"
गोपेन्द्र भट्टराई एनआरएनए अमेरिकाको अभियानमा एउटा अनुभवी र परिपक्क व्यक्तित्व भएको कुरामा दुई मत छैन । उहाँको क्षमता आईसीसीसम्मको हो भन्नेमा पनि शंका गरीरहनु पर्दैन । एनआरएनए अमेरिकाको बोर्डमा बसेर सधै विवादभन्दा माथि उठेर काम गर्नु भएका गोपेन्द्र भट्टराई अहिले महासचिव पदको उमेद्वार हुनुहुन्छ । भट्टराई बिबेकी मतदाताले न्याय गर्नेमा आफुलाई बिश्वास रहेको बताउनुहुन्छ ।